ओलीको प्रतिवेदन : अर्थतन्त्रले अपेक्षित गति लिन सकेन


प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारमा सकारात्मक सङ्केत देखिए पनि अपेक्षित गति लिन नसकेको स्विकारेका छन्।

ओलीले एमाले केन्द्रीय कमिटीको आजको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो स्विकारेका हुन्। उनले राजनीतिक स्थायित्व र सबल सरकार गठनसँगै निजी क्षेत्रको विश्वास बढेको, राजस्व, निर्यात र पुँजीगत खर्च बढेको तथा पुँजी बजारमा सुधार आएको प्रतिवेदनमा उल्लेख गरेका छन्।

पहिलोपटक देशको सार्वभौम ‘क्रेडिट रेटिङ’बाट नेपाल एशियामा भारतपछिको दोस्रो लगानीयोग्य मुलुकका रूपमा परिचित भएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। सहकारीका बेथितिलाई सम्बोधन गर्न तथा दोषीलाई कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ता गर्ने, प्रभावकारी नियमनका लागि प्राधिकरण गठन एवं कानुनी संरचना निर्माणमा आवश्यक प्रयत्न भएको एमाले अध्यक्ष ओलीले बताएका छन्।

ऊर्जा, व्यापार र पूर्वाधारमा सुधारका प्रयास भएका, किसानका समस्या समाधान, सरकारी सेवा प्रवाहमा क्रमिक सुधार आए पनि ती क्षेत्रमा चुनौती रहेका प्रधानमन्त्रीले औँल्याएका छन्। प्रतिवेदनमा सरकारका प्रयास सकारात्मक भए पनि अपेक्षित विकास र जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ। अर्थतन्त्र सुधारका लागि वर्तमान सरकारका काम सकारात्मक भए पनि पर्याप्त नभएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *