उद्धार र राहतमा गम्भीर भएर लागेका छौँ : गृहमन्त्री लेखक


गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन्।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएका हुन्। उनले अहिले काठमाडौंमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताए।

उनले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताए। उनले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गरे। उनले उद्धार, राहत र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताए। उनले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरे। उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराए।

उनले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताए। उनले भने, ‘अहिले काठमाडौंमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको छ। देशभर मानिसहरुले ज्यान गुमाएको स्थिति छ। सडकहरु अवरुद्ध भएको, पुलहरु बगेको स्थिति छ। पहिरो, बाढी र डुबान भएको छ। त्यसलाई हामीले देशभरको सूचना संकलन गरेका छौँ। त्यसको मूल्यांकन गरेका छौँ। म सबैभन्दा पहिला प्राकृतिक प्रकोपको विपद्बाट ज्यान गुमाउनुहुने सबैका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु।’ गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *