भ्रष्टाचारका क-कसका फाइल खोल्ने हो‚ छलफल गरौँ : गगन थापा


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्।

बिहीवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन्। उनले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए।

उनले फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रूपमा प्रयोग गर्ने गरेको बताए। उनले फाइल खोल्ने विषयमा नागरिक आजित भएको अवस्था सिर्जना भएको उल्लेख गर्दै शीर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको बताए।

थापाले भने, ‘हाम्रो सन्दर्भमा एक अर्कालाई आरोपित गर्न, कसैले पनि कसैलाई खुइल्याउनुपर्‍यो भने सबैभन्दा सजिलो हतियार चाहिँ भ्रष्टाचारसँग जोडिएका विषय हुने भए। यहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री पनि आइरहनुभएको छ। भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने हो। त्यसको एउटा छलफल नै गरौं। कुनकुन फाइल खोल्ने हो शीर्ष नेता बसेर छलफल गरौं।’

उनले शेरादरबार, ललितानिवास, गिरिबन्धु लगायतका सबै भ्रष्टाचारसम्बन्धी फाइल खोल्नुपर्ने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *