गैरसहकारी मान्छे सहकारीमा छिर्दा ठगी बढ्यो : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसहकारी मान्छे सहकारीमा छिर्दा ठगी बढेको दावी गरेका छन्। सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्। उनले गैरसहकारी मान्छेहरू सहकारीमा प्रवेश गर्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताए। उनले सहकारीहरू मिलेर सानो पुँजी जम्मा गर्दै ठूल्ठूला काम गर्न सकिने बताए। उनले संसद्को हिउँदे अधिवेशनमा सरकारले सदनलाई बिजनेस दिने कुरामा दृढ रहेको बताए। उनले सरकार संसद्‌मा कानून बनाउने र कानून संशोधन गर्ने कुरामै केन्द्रित हुने बताए।

यसैगरी उनले मुलुकको आर्थिक अवस्था सुधार्न अध्यादेशमार्फत २९ वटा कानून परिवर्तन गरेको जिकिर गरे। प्रधानमन्त्री ओलीले भने‚ ‘सहकारीमा ठूलो ठगी भएको छ। गैरसहकारी मान्छेहरू सहकारीमा प्रवेश गरेर यस्तो खालको काम भयो। सहकारी हामीलाई अहिले पनि आवश्यक छ। सहकारी मिलेर ससानो पुँजी जम्मा गरेर हामी ठूला काम गर्न सक्छौँ। त्यतापट्टि हामी जानुपर्छ। हामीले केही काम छिटो गर्न केही अध्यादेश ल्यायौँ। २९ वटा कानून परिवर्तन गरेका छौँ।’

उनले केही मान्छेले बालकलाई चकलेट देखाए जस्तो गरी सरकार ढाल्न उद्यत रहेको बताए। उनले नेपाली काँग्रेसबाट पूर्ण साथ पाएको बताए। उनले अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्था रहेकोले सुधार्न सरकार प्रयासरत रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *