१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन


कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्नेगरी आवश्यक काम शुरु गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिए। त्यसका लागि द्रुत स्तरमा काम गर्न आग्रह गरे।

उनले भने, ‘हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो। समयमा खेलकुद गर्न कसरी फास्टट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ। यसका फास्टट्रयाकमा जाने विधि र प्रक्रिया के हुन्। अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्नेगरी काम गर्नुपर्छ। तोकिएकै समयमा १० औं राष्ट्रिय खेलकुद गर्न फास्टट्रयाकमा जानुहोला। कसरी हुन्छ त्यो व्यवस्था मिलाउनुस्।’

गत मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा १० औं राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो। तोकिएको समयमा भौतिक पूर्वाधारहरु निर्माण गर्न नसक्दा सरकारले चैत्र २३ गतेबाट गर्ने घोषणा गरिएको थियो। पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट १० औं राष्ट्रिय खेलकुद कर्णालीले गर्नेगरी झण्डा हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *