कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशमा प्रथम र राष्‍ट्रियस्तरमा द्धितीय


फागुन, २७

कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा प्रथम र राष्‍ट्रियस्तरमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ ।

यसैगरी मंगला गाउँपालिकाले ६९.४९,रघुगंगाले ६९.३५,मालिकाले ५८.७५,अन्नपूर्णले ५९.९६ र धबलागिरि गाउँपालिकाले सबैभन्दा कम ४०.८६ अंक प्राप्त गरेको छ । बेनी सँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले ७०.०७ अंक प्राप्त गरेको छ । कार्यसम्पादनलाई १७ वटा सूचकको आधारमा मूल्याङ्कन गरेर अन्तिम नतिजा सार्वजनिक गरेको हो । यसअघि माघ ३० गते प्रारम्भिक नतिजा सार्वजनिक गरेको आयोगले छुटेका कागजात पेश गर्न सात दिनको समय दिएको थियो ।

प्रारम्भिक नतिजामा ६७.२७ अंक प्राप्त भएकोमा छुटेका कागजात पेश गरेपछि अन्तिम नतिजामा ८०.१७ अंक प्राप्त भई गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमा पहिलो र देशभरका सात सय ५३ स्थानीय तहमा दोस्रो स्थान हाँसिल भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

आयोगले असार १० भित्र बजेट पेश गरे नगरेको, असार मसान्त भित्र बजेट पारित गरे नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे नगरेको जस्ता सूचकहरुका आधारमा मूल्याङ्कन गर्ने गरिन्छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएंका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *