दाङका गुण्डा नाइके काठमाडौंको सुन्धाराबाट पक्राउ


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दाङमा गुण्डा नाइके भनिएर चिनिएका घोराही उपमहानगरपालिका–१४ का विकास पुनलाई पक्राउ गरेको छ।

ठगी मुद्दामा ४० वर्षीय पुनलाई सिआईबीले सोमबार राति काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो। पुन पछिल्लो समय काठमाडौंमा थिए।

कपिलवस्तुको बाणगंगा–४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा पुनविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।

राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी पुन भागेको थापाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

गत २६ वैशाखमा उक्त रकम पुनले सापटी लिएको थापा दाबी गर्छन्। खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए।

पुनविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ। उनलाई दाङ लगेर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *