जाजरकोटमा भूकम्प राहत सामग्री म्याद सकिएपछि जलाइयो


जाजरकोटमा भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाइएको छ । भूकम्प वाट अति प्रभावित भेरी नगरपालिकालाई विभिन्न सङ्घ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए । नगरपालिकाले केही राहत सामग्री म्याद सकिएको भन्दै फोहोर सङ्कलन गर्ने ट्याक्टरमा हालेर नष्ट गरेको छ । बिस्कुट, चिउरा, चाउचाउ, भुजा र लत्ताकपडा नष्ट गरेको हो । लत्ता कपडामा स्विटर, ज्याकेट, सारी, टिसर्ट समेत जलाइएको छ ।

भूकम्पको वेला तत्कालीन राहतका सामग्री नगरपालिकाले समयमा वितरण नगर्दा अहिले नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ । भेरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष वीरबहादुर चन्दले भने, ‘हाम्रा नागरिकहरू कति साँझ बिहानको छाक टार्न निकै गाह्रो छ, पालिकाको स्टोरमा कन्टोलको हिसाबले चामल थन्काइएको थियो ।’

नगरपालिका उप प्रमुख सीता जैसीले आफूलाई राहत सामाग्री नष्ट भएको विषयमा कसैले जानकारी नगराएको बताइन्। यता, नगरपालिका विपद् शाखा प्रमुख यज्ञराज गौतमले म्याद गुज्रिएका केही राहत सामग्री नष्ट गरिएको स्वीकार गरेका छन् । ‘हामी सबै बसेर काम नलाग्ने, म्याद सकिएका खाद्यान्नहरू नष्ट गरेका छौँ, पछि पनि काम लाग्ने गरी केही खाद्यान्न राखेका थियौँ, म्याद सकिएछ, ती सामग्री नष्ट गरेका हौँ गौतमको भनाई छ । चाउचाउ लगायतका खाद्यान्न राहत सामग्रीको म्याद सकिएपछि हामीले बोरामा हालेर ट्याक्टरमा राखिएर फालिएको प्रमुख गौतमले बताएका छन्।

अहिले नगरपालिकाले फाल्ने राहत सामग्री त्यति वेला भूकम्पपीडितलाई वितरण गर्न नसक्नु नगरपालिकाको कमजोरी भएको नागरिकको बुझाई छ । नगरपालिकाले नागरिकलाई प्राथमिकतामा राख्नुपर्नेमा राहत थन्क्याएर जलाउनु निकै दुःखद कुरा भएको नागरिक समाजको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *