०८४ को चुनाव जितेर नआई फेरि प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने खेलमा नलागेको खुलाएका छन्। साथै उनले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको पनि आरोप लगाए। यद्यपि, यसै कार्यकालमा आफू पुन: प्रधानमन्त्री नबन्ने पनि उनले बताए।

शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए। उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताए।

उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए।

अध्यक्ष दाहालले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ। लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन। लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ। उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ।’

साथै उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे। उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए। सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताए। सरकारमा हुँदा भ्रष्टाचार विरुद्धको आन्दोलन छेडेको बताए। आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताए।

तीनपटक यो देशको प्रधानमन्त्रीको रथ हाँकिसकेका उनले आफूलाई भ्रष्टाचारीहरुले सरकारले हटाएको समेत बताए। नियमित अवस्थामा आगामी संसदीय निर्वाचन २०८४ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *