जाजरकोट भूकम्पमा परी ८ जना घाइते


जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५ दशमलव २ म्याग्निच्युड र ५ दशमलव ५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुमपश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जाजरकोट, रुकुमपश्चिम र कालीकोट जिल्लाका केही निजी घर तथा सरकारी भवनहरुमा सामान्य चिरा परेको एवम् भवनहरु चर्किएको छ । अधिकांश व्यक्तिहरु बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हामफाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएका पनि प्राधिकरणले जनाएको छ । लगातार दुई भूकम्पको कम्पन जाजरकोट, सल्यान, रुकुम, दैलेख, सुर्खेतलगायतका जिल्लामा महसुस गरिएका थियाे। स्थानियबासिन्दा राति अबेरसम्म खुला ठाउँमा बसेका थिए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले भत्केका घर, भुइँचालोको बेला भागदौडमा चोटपटक लागेका नागरिकको उद्धार गर्न राति नै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

२०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका एक सय ५४ जनाको ज्यान गएको थियो । जाजरकोट, रुकुमपश्चिम, सल्यानलगायतका जिल्लामा निजी घर, विद्यालय र सरकारी भवनमा क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *