प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताउनुभएको छ।
सोमवार काठमाडौँमा आयोजित हिमालयन संवादमा उनले यस्तो बताएका हुन्। उनले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोडका घटनाहरुले देश अझै संक्रमणकालमै रहेको देखाउने बताउनुभयो।
उहाँले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको गुनासो गरे। उनले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान पनि गर्नुभयो।
शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उहाँको भनाइ छ।
‘अहिले शिक्षक आन्दोलन चलेको छ‚ किन चलाउनुभएको मलाई थाहा भएन। म प्रधानमन्त्री छु‚ म भनिराख्या छु, जायज माग लिएर कोही आउँदा आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ। हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ‚’ उहाँले भन्नुभयो, ‘दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन‚ आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ। उहाँहरु कुराकानीका लागि आउनुहोला। हामी यथोचित ढंगले माग सम्बोधन गर्छौँ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भए पनि अनावश्यक आन्दोलन उचित नभएको बताउनुभयो।
