दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद मन्त्रालयकै कारण स्थगित भयाे : मुख्यमन्त्री कडेल


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताउनुभएको छ। खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँगको आज भेटघाट कार्यक्रममा मुख्यमन्त्री कडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्ट पार्नुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरि काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाब दिएको मुख्यमन्त्री कडेलले बताउनुभयो । प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको पनि मुख्यमन्त्री कडेलले जानकारी दिनुभयो । पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भएपनि देखिने गरि काम नभएको मुख्यमन्त्री कडेलले असन्तुष्टी जनाँउदै आउनुभएको थियो।

खेलकुद प्रतियोगिता कर्णाली हुने भएपनि त्यसको मुख्य आयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोग गरिएको आग्रहको समेत सुनुवाई नभएको मुख्यमन्त्री कडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री कडेलले भन्नुभयो, ‘विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपथ्र्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’ मुख्यमन्त्री कडेलले प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमि हुन नदिने पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, आयोजक केन्द्र भएपनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पुरै सहयोग र सहकार्य हुन्छ । ’

एक अर्को प्रसङगमा मुख्यमन्त्री कडेलले प्रदेश रंगशालाको काम सकेर हन्तान्त्रण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, निर्माण कम्पनीले कतिबेला १ प्रतिशत काम बाँकी छ भन्ने कतिबेला सम्पन्न भयो भन्ने खालका कुरा गरिरहेको छ तर रंगशाला हस्तान्त्रण भएको छैन । काम सम्पन्न भएर हस्तान्त्रण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ, हामीलाई कुनै समस्या छैन । ’ मुख्यमन्त्री कडेलले निर्माण व्यवसायीले काम सकेर रंगशाला हस्तान्त्रण गर्नुभन्दा बाहानबाजी गर्दे हिडेको पनि बताउनुभयो।

रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तीबारे छलफल गरेर चाडै टुंगोमा पुग्ने तयारी भएको मुख्यमन्त्री कडेलले जानकारी दिनुभयो। खेल पदाधिकारीहरुलाई मुख्यमन्त्री कडेलले प्रदेश खेलकुद नहुँदा पनि खेलकुदका गतिविधि नरोक्न र प्रतियोगिताको मिति घोषणा हुनासाथ बन्द प्रशिक्षणमा रहने खेलाडीहरुको लागि आवश्यक व्यवस्था गर्ने पनि बताउनुभयो । उहाँले दोहोरो अंकको पदक हासिल गर्ने गरि तयारी गर्ने खेलकुदका प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *