वीरेन्द्रनगरमा दोस्रो डिजिटल कर्णाली कन्क्लेभ आयोजना


कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । वैैशाख ९ र १० गते उक्त कार्यक्रम आयोजना हुने भएको हो । सो कार्यक्रममा प्रदेश र राष्ट्रिय स्तरबाट ५० जना बढी बिज्ञ बक्ताहरु सहभागी हुने मन्त्रालयले जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजनाको बारेमा जानकारी गराइएको हो । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा कन्क्लेभ आयेजना गरिएको हो । वीरेन्द्रनगरको शुभ होटलमा उक्त कार्यक्रम २ दिनसम्म सन्चालन हुने छ ।

डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा १० बढी सेसन र ८ बढी प्रस्तुतिहरु रहनेछन । ’इम्पावारिङ द फ्युचर ः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ८ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुनेछन् ।

कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यमा आयोजना हुने छ । यस्तै प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरु लगायत ४ सय बढीको सहभागीता रहने छ । कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल र अन्तरक्रिया हुनेछ ।

डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, फिनटेक, डिजिटल नेतृत्व र नीति, जनशक्ति, कृषि, पर्यटन, डिजिटल हेल्थ, स्टार्टअप, उद्यमशीलता लगायतका विषयमा वृहत बहस र छलफल हुनेछ । कार्यक्रमले नीतिगत सुधार गर्न, सार्वजनिक सेवा प्रवाहलाई रूपान्तरण गर्न र प्रविधिको प्रयोग गर्दै कर्णालीबासीको जीवनशैलीमै परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास मन्त्रालयले लिइएको छ । कार्यक्रममा कर्णालीको लागि विकास गरिएका १० बढी डिजिटल सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति पनि हुनेछन् । कार्यक्रममा सहभागी हुन चाहने इच्छुकले वेबसाइट मार्फत नै नाम दर्ता पनि गर्न सक्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *