कम्युनिष्ट आन्दोलनका योद्धाहरूलाई एमाले सुर्खेतको ऐतिहासिक सम्मान


नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान र्पुयाउनु भएका अग्रज नेताहरूलाई ‘कम्युनिष्ट योद्धा’को रूपमा सम्मान गरेको छ । आज एमाले पार्टि कार्यालय सुर्खेतमा गरीएको कार्यक्रममा पार्टी निर्माणमा विशेष योगदान दिनुभएका नेताहरू बालाराम शर्मा, बालकृष्ण वि.सी., चूडामणि शर्मा, महेन्द्र प्रसाद शर्मा, डिलाराम गिरी, खगेन्द्र बहादुर घर्ती, हेम प्रकाश भुषाल, कालिका चौधरी, डिल्लीराम महतरा र पृथ्वी बहादुर सिंहलाई सम्मान गरिएको होे । त्यस्तै, पार्टी निर्माणमा मरणोपरान्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका शहीद ऋषिप्रसाद शर्मा र स्वर्र्गीय हस्त बहादुर पुनलाई पनि श्रद्धापूर्वक सम्झिँदै सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमाले बलियो भएमात्रै बामपन्थी शक्ति बलियो हुने बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले फरक धारका राजनीतिक दलहरू आज मुलुकलाई निकास दिनकै लागि एकै ठाउँमा आई सरकार सञ्चालन गर्नु पर्ने परिस्थिति आएको समेत उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान सबैको पहुँचमा पुगे पनि यसको कार्यान्वयनमा अझै केही समस्या रहेको बताउँदै शिक्षक आन्दोलनका मागहरू पूरा गर्न सकिने अवस्था भए पनि देशको आर्थिक अवस्था बुझेर मात्र काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मुख्यमन्त्री कँडेलले आफ्नो कार्यकालको यससमय सम्म कर्णालीबासीले शिर निहुराउनु पर्ने कुनै पनि काम नगरेको र भविष्यमा पनि नहुने विश्वास व्यक्त गर्दै भौतिक विकासभन्दा पनि नीतिगत सुधारतर्फ आफू अघि बढेको र काम पनि तीव्र गतिमा भइरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष कुलमणि देवकोटाले नेपाली जनताको मूर्त प्रतिनिधिका रूपमा कठिन परिस्थितिमा समेत पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका अग्रज नेताहरूको योगदानप्रति पार्टीले सम्मान व्यक्त गरेको जानकारी दिनुभयो । उहाँले संविधानले दिएको नागरिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै देशलाई सुखी र समृद्ध बनाउने यात्रामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । देवकोटाले राप्रपाले उठाएको राजतन्त्रको कुरा केवल आफ्नो स्वार्थका लागि निकालिएको फण्डा मात्र भएको उल्लेख गर्दै जनताले त्यस्तो कुराको विश्वास नगर्ने स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेले यस्ता प्रतिगामी सोचको सशक्त प्रतिकार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *