१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’


 कर्णालीमा पहिलो पटक सञ्चालन गरिएको ‘कर्णाली छोरी सम्मेलन—०८२’ १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको उक्त सम्मेलन श्री ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको थियो ।

कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सबल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउने उद्देश्यसहित उक्त सम्मेलन गरिएको फाउन्डेसका अध्यक्ष ज्योति कटुवालले बताइन् । सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहका दुई सय भन्दा बढी छोरीहरु सहभागी थिए । सम्मेलनमा विभिन्न शीर्षमा रहेर छोरीहरुका विषयमा छलफल तथा बहसहरु भए ।

आमाका कुरा, कर्णालीका सारथी, कर्णालीका खेलाडी छोरी, छोरीका मनका कुरा, कानुनी सेवामा कर्णालीका छोरी, स्वस्थ छोरी, स्वस्थ कर्णाली, शिक्षित छोरी किन जरुरी ?, राजनीतिमा कर्णालीका छोरी लगायतका शीर्षकहरुमा रहेर बहस तथा छलफल भएका थिए ।

घोषणापत्रमा कर्णालीका छोरीहरुको उज्वल भविष्य निर्माणका लागि बाधक बनेको बालविवाह तथा लैङ्गिक विभेद अन्त्यका लागि प्रादेशिक तथा स्थानीय तहमा बाल विवाह अन्त्यका लागि रणनीति एवम् कार्ययोजना निर्माण गरी बालिका तथा किशोरी केन्द्रित कार्यक्रम कार्यान्वयन गर्ने, विभेद विरुद्ध कानुन निर्माणमा सघाउ पु¥याउने लगायतका विषयहरु समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *