थामेको आवाज सम्बोधन हुन्छ: प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या ‘सगरमाथा संवाद’मार्फत सम्बोधन गरिने बताउनुभयो।

थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गर्नुभयो।

“सगरमाथा संवादमा थामेसहितका नेपालका हिमाली क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकतासाथ उठाउँछु”, प्रधानमन्त्री निवास बालुवाटारमा थामे सम्मेलनको आयोजक संस्था ‘साथसाथै फाउण्डेशन’ले तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले भन्नुभयो।

शुक्रवारदेखि ३ दिनसम्म नेपाल सरकारले सगरमाथा संवाद आयोजना गर्न गइरहेको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले हिमालदेखि तराईसम्म जलवायु न्यायका लागि सरकार दृढ हुने धारणा राख्नुभयो।

जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले केही साता अघि हिमपहिरोबाट प्रभावित क्षेत्रमा पुगेर अन्तरराष्ट्रियस्तरको सम्मेलन गरेको थियो।

वन तथा वातावरण मन्त्रालयसहित तीनै तहका सरकारसँगको सहकार्यमा भएको उक्त सम्मेलनले थामेको पुनःस्थापना, परिपूरण र न्यायका लागि विभिन्न निष्कर्ष निकालेको थियो।

प्रतिवेदन बुझाउँदै ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले नेपाललाई जलवायु न्याय दिलाउनका लागि अन्तरराष्ट्रिय रुपमा पहलकदमी गर्न प्रधानमन्त्री ओलीले देखाएको तदारुकता प्रशंसनीय भएको बताउनुभयो।

थामे सम्मेलनलाई सरकारले सगरमाथा संवादको प्रि–इभेन्टका रुपमा मान्यता दिएको थियो। सगरमाथा संवादको पूर्वसन्ध्यामा उक्त सम्मेलन परिणाममुखी हुने भन्दै प्रधानमन्त्री ओलीले लिखित सन्देशसमेत पठाउनुभयो ।

अध्यक्ष कार्कीको नेतृत्वमा भएको आरोही सम्मेलनमा कतारकी राजकुमारी आश्मा अल थामीसहित चर्चित सगरमाथा आरोही र जलवायु विज्ञ समेत सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *