नेकपा एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकले राजावादीहरूले जेठ १५ गते गर्न लागेको प्रदर्शन गणतन्त्रको विपक्षमा हुने भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले जेठ १५ गते गणतन्त्र दिवस भव्य रूपमा मनाउन पार्टी सङ्गठनहरूलाई निर्देशन पनि दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
यसअघि आजै एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाण्डाै नेकपा एमालेको नियन्त्रणमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको थियो ।
यसैबीच राष्ट्रिय युवा सङ्घ नेपालको चलिरहेकाे महाधिवेशनमा निर्वाचन कमिटीले निर्वाचन तालिका प्रकाशन गरेको छ । सहमतिमा अध्यक्ष चयनका लागि दुई दिनदेखिकाे प्रयास असफल भएसँगै चुनाव प्रक्रिया शुरू भएको हो ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको तालिकानुसार आज दिउँसो साढे ४ बजे शुरू भएको उम्मेदवारी दर्ताको समय अहिले ६ बजे सकिएको छ । आजै राति ८ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ । महाधिवेशन पोखरा सभागृहमा भइरहेको छ ।
