रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो हवाई आक्रमण गर्‍याे


रुसले युक्रेनमा एकैरातमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले जनाए अनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् ।

बितेको ४८ घण्टाको अवधिमा रुसले युक्रेनमाथि ठूलो स्तरमा गरेको यो दोस्रो ठूलो आक्रमण हो । लडाइँ अन्त्य गर्ने दुई देशबीचको वार्ता कैदी साटासाटको विषय टुङ्गिएपछि रुसले हिजो गरेका आक्रमणहरूमा युक्रेनभरि १३ जनाले ज्यान गुमाएका थिए ।

रुसले युद्धविराम गर्ने प्रस्ताव स्वीकार गरेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको अतिक्रमण थालेपछि रुसले अहिले युक्रेनको झन्डै २० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेको छ । त्यसमा युक्रेनको दक्षिण प्रायद्वीप क्राइमिया पनि पर्छ जसलाई रुसले सन् २०१४ मा आफूमा गाभेको थियो ।

युक्रेनी हवाई बलका अनुसार हिजो बिहान ८ बजेर ४० मिनेटयता रुसले विभिन्न किसिमका ३ सय ६७ वटा क्षेप्यास्त्र, तथा ड्रोनहरू प्रयोग गरी आक्रमण गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *