आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होटल संघ पोखरा नेपालले जाउँ है पोखरा अभियान अन्तर्गत सुर्खेतमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । पर्यटन व्यवसायलाई थप प्रचारप्रसार तथा प्रवर्द्धनका लागि जाउ है पाेखरा कार्यक्रम अन्तर्गत पश्चिम नेपालका प्रमुख शहरहरूमा कार्यक्रम सुरु गरेको आयाेजकले बताएको छ।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा सञ्चालन हुने यो अभियान जेठ २९ गतेदेखि असार २ गतेसम्म वुटवल, नेपालगञ्ज, सुर्खेत र दाङ (घोराही) मा सञ्चालन हुने छ ।संघले गत वर्ष फागुनमा पूर्वी नेपालका विभिन्न शहरमा पनि यस्तै अभियान सम्पन्न गरेको थियो । यो वर्ष पश्चिम नेपालमा अभियानलाई केन्द्रित गरी आन्तरिक पर्यटनलाई थप उत्साहित गर्ने र पर्यटकलाई पोखरा भ्रमणको निम्तो दिने उद्देश्य लिएको छ । साथै पोखराबाट समेत पर्यटकलाई पश्चिम नेपालका गन्तव्यहरूतर्फ आकर्षित गर्ने योजना रहेको छ ।
पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सघाउ पुर्याउने विश्वास व्यक्त गरिएको छ । कनेक्टिभिटीलाई विशेष महत्व दिँदै संघले पोखरा तथा पश्चिम नेपालबीच सिधा हवाई उडान तथा स्तरीय बस सेवा विस्तार गर्न सम्बद्ध निकायहरूलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ ।
संघका अनुसार, पोखरामा पाँच खर्ब हाराहारीको लगानी, १,२०० होटल र ४०,००० बेड क्षमता रहेको छ । यस क्षेत्रमा करिब २०,००० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। संघले फेवा नववर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव, खेलकुद कार्यक्रम, भारतीय शहरहरूमा “चलिए पोखरा” अभियान तथा अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा सहभागिता जस्ता विभिन्न प्रवर्द्धनात्मक गतिविधि गर्दै आएको छ ।
पोखरा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिहरूले भरिपूर्ण गन्तव्य भएको उल्लेख गर्दै होटल संघ पोखराले सम्पूर्ण नेपालीलाई पोखरा भ्रमण गर्न निमन्त्रण गरेको छ ।
