माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश


विशेष अदालतले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो। नगदै ३५ लाख वा बै‌ंक जमानतमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो । नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए।

२०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान थालेको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बनमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *