प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुङ्गो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताउनुभएको छ ।
शनिवार आज सिंहदरबारमा रहेकाे सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा टीआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउने भन्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुङ्ग्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सदन भित्रको टीआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउन छलफल भयो, सैद्धान्तिक रुपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरु पनि बसेर २८ गतेको बैठकले टुङ्ग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरुले फास्ट ट्रयाकबाट टुङ्ग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’
प्रधानमन्त्री प्रचण्डले सरकार पक्षधर राजनीतिक दलहरुले भने सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुङ्ग्याउने पक्षमा रहेको बताउनु भयो ।
