नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समय सापेक्ष बनाउन संविधान संशोधनको नेतृत्व पार्टीले गर्ने बताएका छन्। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा शुक्रबारबाट वीरगञ्जमा सुरु भएको प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेसले समानुपातिक र समावेशितालाई थप बलियो बनाउन चाहेको बताए।
त्यसका लागि संविधान संशोधन कांग्रेसको नेतृत्वमा गर्नुपर्छ भनेर आफूहरूले भनिरहेको उनको भनाइ थियो। ‘कांग्रेसले समानुपातिक र समावेशितालाई कांग्रेसले मानेन भनेर भ्रम छर्ने काम भइरहेको छ, त्यसलाई चिर्नु कांग्रेसले आफ्नो नेतृत्वमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागिरहेको छ,’ उपसभापति खड्काले भने, ‘संशोधनमार्फत जातजाती, भाषभाषी, पिछडिएको क्षेत्र र भूगोलका अधिकारको विषयमा देखिएको गाठो फुकाउने नेतृत्व कांग्रेसले गर्नेछ।’
खड्काले कांग्रेसका बारेमा प्रचारभन्दा कुप्रचार बढी भइरहेको भन्दै, त्यसलाई चिर्न केन्द्र र प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गरिरहेको जानकारी दिए। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकोको प्रमुख समेत रहेका खड्काले अहिलेसम्म विभिन्न समयमा कांग्रेसले गरेका काम, कांग्रेसको नेतृत्वमा भएका उपलब्धिलाई प्रतिष्ठानले लिपिबद्ध गर्ने काम सुरु गरेको जानकारीसमेत दिए।
कार्यक्रममा कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले मधेसमा कांग्रेसको पक्षमा जनमत बढ्दो रहेको बताए। उनले कांग्रेसलाई मधेस प्रदेशमा अझ सशक्त बनाउनका लागि प्रशिक्षण कार्यक्रमले सहयोग पुर्याउने बताए। शुक्रबार र शनिबार चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेशका ८ जिल्लाका पार्टी र भ्रातृसंस्थाका प्रतिनिधि गरी दुई सय ८० जना बढीको सहभागिता रहने कांग्रेसको मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।
अहिलेको प्रशिक्षणमा भाग लिएकाहरूले प्रशिक्षणमा सिकेका विषयमा गाँउगाँउमा गएर प्रशिक्षण दिने कांग्रेसको मधेस प्रदेशका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख चन्द्रशेखर प्रसाद यादवले जानकारी दिए।
