शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद


प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

समितिका सदस्यहरूले आजै शिक्षा विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग छलफल गर्न थप समय मागे।

उनले अनिश्चितकालका लागि बैठक स्थगित गर्न माग गरेका थिए तर समिति सभापति थापा र अन्य सदस्यहरू सहमत भएनन्। त्यसपछि केही समय शिक्षामन्त्री र सभापतिबीच चर्काचर्की नै चल्यो।

त्यसपछि सभापति थापाले शिक्षामन्त्रीलाई भने,‘सरकारलाई अब अन्तिम समय पाँच दिन दिएका छौँ। यो समयभित्र पहिला भएकै सहमतिअनुसार सहमति गरेर आउनुहोला।’

समितिले यसअघि शिक्षक पदपूर्ति गर्दा आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत गर्ने गरी सहमति जुटाएको थियो। नेपाल शिक्षक महासंघले भने ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र २५ प्रतिशत खुलाबाट पदपूर्ति गर्नुपर्ने अडान राख्याे। त्यसैले हालसम्म पनि समितिबाट शिक्षा विधेयक पारित हुन सकेकाे छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *