सवारि दुर्घटनाको जोखिम न्युनिकरण गर्न ट्राफिक लाइट जडान भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतकाे वीरेन्द्र चोकमा वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरेकाे हाे । नगरपालिकाले राजधानी केन्द्रित बसाइँसराइका कारण बढ्दो सवारी चापलाई मध्यनजर गर्दै त्यसबाट हुने दुर्घटनाहरू न्युनिकरण गर्ने उदेश्यले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो । महानगर बनाउने याेजना बनाईरहेकाे पालिकाले सडक सुरक्षा र सवारी सञ्चालनमा नयाँ अभ्यासको सुरुवात गरेको छ ।

ट्राफिक लाइट सञ्चालन गरेलगत्तै यसको जिम्मेवारी तथा निगरानीका निम्ति जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई एक कार्यक्रमका बिच बुधबार हस्तान्तरण गरिएकाे ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
साेहि हस्तान्तरण कार्यक्रममा बाेल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी तथा रेखदेख ट्राफिक कार्यालयलाई दिँदा सडक व्यवस्थित भई सवारी चापलाई व्यवस्थापन गर्न सजिलो हुने बताएकी छिन । उनका अनुसार पैदलयात्रीहरुलाई ट्राफिक लाइटले सुरक्षित र सहज बनाउन सहयोग पुर्याउने छ भने यहीँ वर्ष मंगलगढी चाेकमा आकाशे पुल निर्माणको काम समेत शुरूवात भैसकेको छ। नगरपालिकाले आगामी दिनमा फराकिला सडक सँगै अन्य व्यस्त सडक तथा मुख्य चोकहरूमा पनि ट्राफिक लाइटकाे काम थप विस्तार गरिने योजना रहेको बताएको को छ ।
