कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनमा असफल देखिएको छ । ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको सरकारले आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६४.८६ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ ।
लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीका अनुसार सरकारले जेठ मसान्तसम्म १२ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको थियो । असारको अन्तिम २५ दिनभित्र ७ अर्ब ४२ करोड खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको लागि विनियोजित ३१ अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये जम्मा २० अर्ब ३० करोड ११ लाख रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी करिब ११ अर्ब रुपैयाँ फ्रिज भएको छ ।