भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने


भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले देशभर नै फैलिने खालको मौसम प्रणाली नभइ विभिन्न प्रदेशका पनि पहाडी क्षेत्रका कुनै-कुनै ठाउँमा भारी वर्षा हुने खालको प्रणाली विकास भएको जानकारी दिइन्।

उनका अनुसार तराइमा अझै राम्ररी पानी पर्ने खालको प्रणाली देखिएको छैन। खडेरीले आक्रान्त तराइका लागि आज रातिदेखि विकसित भएको मौसम प्रणालीले पनि खासै राहत दिने देखिएको छैन। तर बदली भइ केही वर्षा भने गराउने बताइएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ। 

आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यसैले जोखिम हुने हुँदा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *