विद्या भण्डारीलाई राजनीतिमा ल्याउन हुन्न भन्नेमा बहुमत


नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ।

केन्द्रीय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका छन्। उनीहरूले गणतन्त्रको गौरवको रूपमा रहिसकेको व्यक्ति दलको राजनीति गर्ने विषय मात्रै नभएको बताए।

बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवको रूपमा रहिसकेका व्यक्ति राजनीतिक दलमा प्रवेश गर्ने कुरा कुनै राजनीतिक दलको विषय मात्रै नभएको बताए।

उनले यो विषयलाई संविधानको भावना र मर्मअनुसार नजिर स्थापित हुने गरी निर्णय लिनुपर्ने बताए। केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने उनको भनाइ छ।

उनले भने, ‘पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरा अधिकांश सदस्यले जिज्ञासा राखेका छन्। साझा व्यक्तित्व, गणतन्त्रको गौरव रहिसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने कुरा प्राविधिक र एउटा पार्टीको विषय होइन। यसले भोलि जनता, प्रणाली र व्यवस्थामा के प्रभाव पर्छ, संविधानको भावना र मर्मको कस्तो नजिर र अभ्यास हुन्छ भन्नेमा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्यको जोड छ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रवेश गर्न दिने कुरा राजनीतिक आन्दोलनमा पार्ने प्रभावलाई ध्यानमा राखेर निर्णय हुने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *