आमनिर्वाचन मिति नजिकिएसँगै नयाँ र आफूलाई पृथक् दाबी गर्ने दल तथा घटकहरू एक ठाउँ आइसकेका छन्।
जेनजी विद्रोहपछिको प्रमुख शक्ति बन्ने उद्देश्यका साथ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह र अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भइसकेका छन्।
यसरी नयाँहरू एक ठाउँ आएपछि पुराना दलहरू पनि मोर्चाबन्दी कस्ने तयारीमा देखिन्छन्। खासगरी जेनजी आन्दोलनकै कारण सत्ताबाट बहिर्गमित भएका नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन नजिक रहेका नेताहरूको भनाइबाट पुष्टि हुन्छ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनबाटै कांग्रेस–एमाले गठबन्धनको चर्चाबीच मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक विचार गोष्ठीमा एमाले उपाध्यक्ष रामबहादुर थापाले मुख खोले। कार्यक्रमका प्रमुख वक्ता नै अध्यक्ष केपी शर्मा ओली रहेका उक्त कार्यक्रममा उनले कुरा नघुमाई ‘आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने’ धारणा राखे।
‘नयाँ संसद्मा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने वा दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद् पुनःस्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौं,’ उनले भने, ‘१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनःस्थापनाका लागि १६५ मोर्चा हो। आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔं। ११० समानुपातिकबाट आधा वामपन्थी र आधा लोकतन्त्रवादी आउने रणनीति बनाऔं।’
विगतका समयमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्दै आएको प्रसंग पनि जोडे। अहिलेको विषम परिस्थितिमा पनि दुई शक्तिहरूले मिलेर परिणाम हासिल गर्न रणनीति बनाउनुपर्ने थापाले बताएका थिए।
एमाले नेताहरूबाट मात्रै होइन, कांग्रेस नेताहरूले सोही आशयको धारणा व्यक्त गरेका छन्। मंगलबारकै कार्यक्रममा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि त्यसमा समर्थन भाव जनाए। उनले पार्टी सभापतिका सन्देश भन्दै कांग्रेस–एमालेबीच मुद्दामा सहकार्य हुनेसमेत बताए।
