नियमित महाधिवेशन नभएपछि नेपाली काँग्रेसमा विशेष महाधिवेशन तयारी शुरु भएको छ।
पुस ६ देखि २८ गतेसम्म १५ औँ राष्ट्रिय महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णयानुसार महाधिवेशनका कार्यक्रम अघि नबढाइएपछि विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनका तयारी थालेका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाले यही पुस २८ गतेसम्म महाधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था समेत लत्याउन खोजेको कारण विशेष महाधिवेशनको तयारी अघि बढाइएको पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। उनले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको स्मरण गर्दै तदनुसार महाधिवेशन गरेर पार्टीको नीति, नेतृत्व र कार्यदिशा तय हुनुपर्ने बताए।
उनले महाधिवेशन रोक्न क्रियाशीलका सम्बन्धमा विवाद निकालिएको उल्लेख गर्दै १५ औँ महाधिवेशनमा समेत १४औँ महाधिवेशनका प्रतिनिधिहरूमार्फत नेतृत्व चयन गरिने बताए।
उनले पार्टी महामन्त्री गगनकुमार थापा प्रतिवेदन तयारीमा लागिसकेको उल्लेख गर्दै पार्टीको विधानअनुसार सबैलाई मिलाएर विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाइने बताए।
शिवाकोटीले भने, ‘पुस २८ सम्म विशेष महाधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था छ। त्यो बाध्यकारी व्यवस्थालाई पनि यतिखेर आएर लत्याउन खोजेको अवस्था छ। एउटा विशेष महाधिवेशनको त्यहाँ गर्ने भनेर काठमाडौँको भृकुटीमण्डपमा हल बुक २७ र २८ का लागि त्यही छ। हामीले महामन्त्री दुवैजनालाई जानकारी गराएका छौँ।’
उनले काँग्रेसजस्तो लोकतान्त्रि पार्टीले आन्तरिक लोकतन्त्रको लागि आवश्यक गृहकार्य नगर्दा समस्या हुने भन्दै जनताको विश्वास कायम गर्न विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको बताए।
