फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा(एसइई) पनि सर्ने सम्भावना बढेको छ। यो वर्ष (२०८२)को एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुर्याउने देखिएको हो।
‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भदौ २७ मा अन्तरिम सरकार गठन भएपछि ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको थियो।
तदनुसार फागुन २१ गते निर्वाचन तोकिएको छ। यही निर्वाचनका लागि सरकार यतिखेर लागिरहेको छ। प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै आवश्यक तयारी भइरहेको बताउँदै आएकी छिन्। त्यसो त उक्त निर्वाचनले परीक्षामा असर पुग्ने देखियो।
मुख्य त मतपत्र र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने एउटै ठाउँ(सरकारको स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड) हुँदा प्रभाव पर्ने परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘अब प्रतिनिधिसभा निर्वाचन हुने नै देखिएको छ। यसले परीक्षामा प्रभाव पार्ने देखियो। मतपत्र र प्रश्नपत्र छाप्ने एकै ठाउँ भएकाले केही सुरक्षा हिसाबले पनि समस्या हुने भयो।’
परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का उपनियन्त्रक तारानाथ निरौलाले पनि तोकिएको समयमा निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने जानकारी दिए।
‘तोकिएकै समयमा प्रतिनिधिसभा निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने देखिएको छ’‚ उनले भने,‘किनभने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नै मतपत्र र एसइई प्रश्नपत्र छाप्ने हो, यो छपाइमा सुरक्षा हिसाबले पनि समस्या हुने आशंका छ। यदि जनक शिक्षाले प्रश्नपत्र र मतपत्र छाप्नसक्छौँ भनेर प्रश्नपत्र अगाडि छापे पनि सुरक्षित ढंगले राख्ने स्टोर परीक्षा बोर्डसँग छैन।’
त्यसैगरी निर्वाचन भएमा समयमा एसइई प्रश्नपत्र जिल्ला जिल्लामा पुर्याएर सुरक्षित राख्न पनि समस्या देखिने उनले बताए।
उनले भने, ‘अब प्रश्नपत्र छापेर जिल्लामा पठाउनुपर्छ, जिल्लालाई पनि प्रश्नपत्रसँगै मतपत्र पनि सुरक्षित राख्ने जिम्मेवारी हुन्छ, कसरी सुरक्षित राख्ने भन्ने चुनौती छ,अब जनशक्तिको हिसाबले पनि मिलाउन समस्या देखिन्छ, स्कुल नै परीक्षाकेन्द्र तोकिएको हुन्छ, शिक्षकहरू चुनावमा खटिन्छन्, कुनै ठाउँमा फेरि मत गणना दोहोर्याउनुपर्ने इत्यादि समस्या आउला, यी सबै दृष्टिकोणले हेर्दा समस्या देखिन्छ।’
