वीरेन्द्रनगर, सुर्खेत।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, वीरेन्द्रनगर सुर्खेतमा सहायक स्तरका वन रक्षक र गेम स्काउटहरूका लागि आयोजित ३२ दिने सेवाकालीन तालिम सम्पन्न भएको छ। गत बैशाख देखि सुरु भएको उक्त तालिम एक समारोह बिच समापन गरिएको हो।

समापन समारोहका प्रमुख अतिथि एवं उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव अजित कुमार कर्णले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई फिल्डमा अक्षरसः प्रयोग गर्दै वन, वनस्पति र वन्यजन्तुको दिगो व्यवस्थापन एवं संरक्षणमा जिम्मेवार भएर लाग्न सहभागीहरूलाई निर्देशन दिएका छन । उनले वन र वन्यजन्तु संरक्षण भए मात्र मानव अस्तित्व रहने हुँदा कर्मचारीतन्त्र भन्दा माथि उठेर वन सेवाका कर्मचारीले वन सरंक्षणमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए।

तालिममा कर्णाली प्रदेश भरका डिभिजन वन कार्यालय र रारा ,शे-फोकसोण्डो राष्ट्रिय निकुञ्जका संरक्षीत क्षेत्रहरूमा कार्यरत ३ जना महिला सहित २२ जना वन प्राविधिकहरूको सहभागिता रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका निर्देशक रेणुका न्यौपानेले जानकारी दिईन।

न्यौपानेका अनुसार ३२ दिनसम्म चलेको प्रशिक्षण तालिममा सहभागीहरूलाई कार्यक्षेत्रमा थप व्यावसायिक र दक्ष बनाउन विभिन्न विषयहरूमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिम अवधिभर वन प्रशासन, अभिलेख व्यवस्थापन, वन ऐन, नियम तथा कानुनी प्रक्रियाका बारेमा विस्तृत प्रशिक्षण दिइएको थियो।
यसका साथै वन संवर्द्धन प्रणाली , वन मापन , वन्यजन्तु व्यवस्थापन, पर्या-पर्यटन , कार्यक्षेत्रमा आइपर्ने तनाव व्यवस्थापन र नेतृत्व विकास जस्ता महत्त्वपूर्ण विधिको डिजिटल प्रविधि मार्फत कक्षामै अन्तरक्रियात्मक ढङ्गले अध्यापन गराइनुका साथै फिल्डमा लगेर प्रयोगात्मक अभ्यास समेत गराइएको निर्देशक न्यौपानेको भनाइ छ।
त्यस्तै आगामी दिनमा कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्न र सेवा प्रवाहलाई थप सुदृढ बनाउन आगामी दिनमा पनि यस्ता वैज्ञानिक र सेवाकालीन तालिमहरूलाई निरन्तरता दिइने उनले उल्लेख गरिन् ।
