कर्णालीको परिचय बदल्न साझा सङ्कल्प जरूरी छ : यामलाल कँडेल


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समग्र प्रदेशको परिचय परिवर्तन गर्न साझा सङ्कल्प र आपसी सहकार्य आवश्यक रहेको बताएका छन्। परिवर्तनका लागि युवा संस्थाद्वारा आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली युवा महोत्सव’को उद्घाटनमा उनले कणालीको विकास र समृद्धिका लागि युवाहरूको साथ र सङ्कल्पको जरूरी रहेको धारणा राखे।

“प्रदेश सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल हुन सक्दैन। यसमा युवाको साथ, सहयोग र सहकार्य आवश्यक छ‚’ उनले भने, ‘विगतका महोत्सवभन्दा यसले प्रदेश सरकारलाई नयाँ योजना निर्माणमा मार्गनिर्देशन गर्ने विश्वास छ। सरकारको कार्यसम्पादनमा युवा भएमा कार्यप्रगति उल्लेख हुँदै जानेछन्।”

प्रदेश सरकारलाई निश्चित बजेट र स्रोत साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको जनाउँदै मुख्यमन्त्री कँडेलले सबै पक्षलाई समेटेर लैजाने प्रयास गरिएकाले यसमा युवाको सकारात्मक साथ आवश्यक रहेको धारणा व्यक्त गरे। कर्णालीको विकास पहिलो प्राथमिकता परेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नगर्न सबैलाई आग्रह गरे। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरूलाई आशावादी र सृजनशील भएर उद्यमशील बन्दै जानुपर्ने भन्दै यसमा स्थानीय सरकारको सहयोग सदैव रहने जानकारी दिए।

स्थानीय सरकारले गरेका सकारात्मक पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्दै उनले आपसी सहकार्य र समन्वयबाट मुलुक समृद्ध बन्ने विश्वास व्यक्त गरे। संस्थाका अध्यक्ष हिमाल विष्टले रोजगारीको अभावमा विदेश पलायन भइरहेका युवाहरूमा आशा जगाउने र उनीहरूलाई देशमा स्वरोजगारका अवसरबारे जानकारी गराउन महोत्सव आयोजना गरिएको जानकारी दिए।

“हामीले राष्ट्रिय युवा परिषद् नेपालसँगको समन्वयमा सबै क्षेत्रका युवा प्रतिनिधित्व हुनेगरी महोत्सवमा सहभागिता गराएका छौँ”, उनले भने, “महोत्सव परामर्श र उत्प्रेरणामूलक हुने विश्वास लिएका छौँ।”

उनका अनुसार महोत्सव भोलिसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *