अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो’


काठमाडौं : जोरपाटीकी ६४ वर्षीया उमादेवी पुडासैनीलाई असहज भयो । तत्काल उनले अस्पताल लैजान छोराहरूलाई विलाप गरिन् । घर नजिकै थियो, नेपाल मेडिकल कलेज । केही दिनअघिदेखि उनलाई सामान्य रुघाखोकीले च्यापेको थियो । लक्षण कोभिडसँग मिल्दोजुल्दो थियो । छोराहरूले तत्कालै उनलाई मेडिकल कलेजमा पुर्‍याएर पीसीआर परीक्षण गराए । अन्तत: उनको रिपोर्ट आयो, पोजिटिभ ।

अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै आमाको शरीर थप शिथिल भइसकेको थियो’, उमादेवीकी छोरा नविन भन्छन्, ‘अस्पतालले अक्सिजन छैन । भर्ना गर्न सक्दैनौं । बिरामी लैजानुहोस् भन्यो ।’ कतै राखिहाल्छ कि भन्ने आशमा आमालाई उनले मेडिकल कलेजको चौरमै दुई घण्टा राखे तर अस्पतालले भर्ना लिएन । आमा चौरमै छटपटिन थालेपछि नविनको दाजुभाइले अरु अस्पतालमा अक्सिजन र बेडको तलास गर्न लागे । 


 

सिभिल, ह्याम्स, निदान सबै अस्पतालमा बेड र अक्सिजका लागि फोन गर्‍यौं, कतै  मिलेन । अस्पतालहरूले अर्को बिरामी डिस्चार्ज भएपछि खबर गर्छौं भने’, उनी भन्छन्, ‘अक्सिजन र बेड नपाएपछि आमालाई घरमै ल्यायौं । आफन्तकोमा एउटा अक्सिजन रहेछ त्यही प्रयोग गर्‍यौं ।’ उमादेवीलाई हाइफ्लो अक्सिजन र आईसीयू चाहिने थियो । तर, उनले अक्सिजन र आईसीयू नपाएपछि रोगले च्यापेको २४ घण्टा नबित्दै घरमै अन्तिम सास फेरिन् । ‘अस्पतालले अक्सिजन र बेड छैन भनेर पठायो, हामीलाई आमाले छोडेर जानु भो’, स्तब्ध हुँदै नविन भन्छन्, ‘यस्तो होला भनेर सोचेको पनि थिएनौं ।’

नविनकी आमा मात्र होइन । अक्सिजनको अभावमा देशभरका अस्पतालमा मानिसको मृत्यु भइरहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि मृतकको संख्या बढेको देखाउँछ । आइतबारसम्म दुई अंकमा रहेको मृतकको संख्या सोमबारदेखि तीन अंकमा उक्लिएको छ । आइतबार ८८, सोमबार १३९, मंगलबार २२५ र बुधबार १६८ जनाको मृत्यु भएको छ । 

मृतकको संख्या बढ्नुको मुख्य कारण अक्सिजन, आईसीयू, भेन्टिलेटर र बेडकै अभाव रहेको उपचारमा संलग्न चिकित्सकहरूको निष्कर्ष छ । अक्सिजनको अभाव भएपछि दुई दिनयता रुपन्देहीमा मात्र १४ जनाको मृत्यु भयो । बुटवलको कोरोना अस्पतालमा ११ जना र भीम अस्पतालमा ३ जनाको मृत्यु भएको छ । 

काठमाडौंका अस्पतालमा पनि अक्सिजनको अभावमा मृतकको संख्या बढिरहेको छ । मेडिसिटी हस्पिटलका प्रवक्ता राज राणा पछिल्लो दिनमा मृतकको संख्या बढेको बताउँछन् । ‘तीन दिनमा मेडिसटीमा ७ जनाको मृत्यु भएको छ । अक्सिनको अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो हुन्छ’, उनी भन्छन्, ‘हामीलाई ५ सयसिलिण्डर आवश्यक पर्छ । १ सयमा चलाउनु भनेको छ । अब कसरी धान्ने ?’

अक्सिजनको अभाव भएको भन्दै बिरामी नै भर्ना लिन छाडेको नेपाल मेडिकल कलेजमा दुई दिनयता तीन जनाको मृत्यु भएको छ । ‘अक्सिजनको अभाव भएकाले केही दिन म्यानेज गर्न सकेनौं । कतिलाई डिस्चार्ज गर्‍यौं । कति अर्को अस्पतालमा जानु भयो’, अस्पतालका सहायक निर्देशक डा. सत्यम रिमाल भन्छन्, ‘सीसीएमसीले सम्बन्धित डिपोलाई पत्रचार गरेपछि अक्सिजन आएको छ । फेरि कोभिडका बिरामी भर्ना गर्न थालेका छौँ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सरदर एक हप्तामा ७ जना कोभिडका बिरामीको मृत्यु भएको छ । ‘कतिको मृत्यु भयो तथ्यांक राख्ने स्थिति नै छैन’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘कोही आईसीयू, कोही भेन्टिलेटर, कोही आकस्मिक कक्षमै मरिरहेका छन् ।’

पाटन अस्पतालमा सरदर दैनिक दुई जना कोभिडका बिरामीको मृत्यु भएको छ । ‘बिरामीलाई बचाउने अहिलेको विकल्प अक्सिजन हो’, अस्पतालका निर्देशक डा. रवि शाक्य भन्छन्, ‘दैनिकजसो दुई जनालाई गुमाइरहेका छौँ ।’

संक्रमण तीव्र गतिमा फैलिएको र नयाँ भेरियन्ट धेरै घातक भएकाले अझै मृतकको संख्या बढ्ने विज्ञहरू बताउँछन् । ‘अझै तीन हप्ता मृत्युदर बढ्छ । मृत्युदर भारतमा २ दशमलव ८ प्रतिशत र नेपालमा १ दशमलव ६ प्रतिशत छ । भारतको भन्दा कम देखिए पनि नेपालमा भारतभन्दा एक महिनापछि वेब देखिन्छ’, जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम धुलिखेल अस्पतालका निर्देशक डा. विराज कर्माचार्य भन्छन् । 

०००

अक्सिजनको अभाव किन ?

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले कोटा निर्धारण गरेकाले समस्या भएको अस्पतालहरू बताउँछन् ।अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन दिनु परेको चिकित्कसहरूको भनाइ छ । अस्पतालको मागभन्दा कम अक्सिजन पाएकाले बिरामी डिस्चार्ज गर्नु परेको, नयाँ भर्ना गर्न नसकिएको अस्पतालहरू बताउँछन् । 

तर, सीसीएमसीले भने अस्पतालको कुरामा सत्यता नरहेको बताएको छ । ‘अस्पतालहरूको बहाना हो । कोटा निर्धारणले असर गरेको छैन’, सीसीएसी सचिवालयका सहसचिव नुरहरि खतिवडा भन्छन्, ‘सबै स्वास्थ्य संस्थामा न्यूनतम दुई-चारवटा अक्सिजन सिलिण्डर पुगोस् भनेर कोटा तोकेका हौँ । आफ्नो क्षमताले अस्पतालले ल्याउन सक्छ भने ल्याउन भनेकै छौँ ।’

ठूला अस्पतालमा केन्द्रित हुँदा सानाले अक्सिजन नपाउने स्थिति बनेकाले कोटा तोक्नु परेको उनी बताउँछन् । ‘कसैलाई बाध्यकारी बनाएका छैनौ । सिलिण्डर छ भने उपत्यका बाहिरबाट भरेर ल्याउन सिफारिस गरेका छौँ’, उनी भन्छन्, ‘सिलिण्डर कम भएर समस्या भएको हो ।’

अक्सिजनको माग चार गुणा बढी 

कोभिड बिरामीको संख्या बढेसँगै चार गुणा बढी अक्सिजनको माग बढेको छ । ‘हाल २४ घण्टामा काठमाडौं उपत्यकामा ७ हजार सिलिण्डर उत्पादन गर्ने क्षमता छ तर ३० हजार सिलिण्डर अक्सिजनको माग छ’, उनी भन्छन्, ‘एउटा बिरामीलाई २४ घण्टामा ५ वटा सिलिण्डर चाहिएको छ । यो कहीँबाट पूर्ति गर्ने अवस्था छैन ।’

बाहिरी जिल्लाबाट पनि अक्सिजन सिलिण्डर ल्याउने प्रयास सीसीएमसीले गरेको छ । ‘अक्सिजनको पर्याप्त उत्पादन नबढाएसम्म  यो समस्या विकराल हुन्छ । विराटनगर, पोखरालगायत उत्पादन भएको ठाउँबाट पनि ल्याउने प्रयास गरिरहेका छौँ’, उनी भन्छन् । 

कोटाभन्दा बढी दिनै सक्दैनौँ : अक्सिजन उत्पादक

अक्सिजन उत्पादक कम्पनीहरू सीसीएमसीले तोकेको भन्दा बढी दिनै नसक्ने बताउँछन् । ‘कुन अस्पताललाई कति दिने कोटा तोकेको छ त्यही अनुसार दिने हो । हाम्रो क्षमता अनुसार कोटा तोकेको हो’, अक्सिजन ग्यास उत्पादक संघ नेपालका अध्यक्ष गौरव सारडा भन्छन्, ‘सबैलाई भाग पुगोस् भन्ने नै हो । कोहीलाई बढी कोहीलाई कम गर्न मिल्दैन ।’

माग अनुसार उत्पादन नभएको उनी बताउँछन् । ‘काठमाडौं, नेपालगञ्ज, भैरहवा र बुटवलमा शतप्रतिशत प्लान्ट चलेको छ । पोखरा र चितवनमा पनि अब चल्ने कुरा छ । पूर्वमा शतप्रतिशत प्लान्ट चलेको छैन’, उनी भन्छन्, ‘देशभर जम्मा १७ हजार अक्सिजन सिलिण्डर उत्पादन हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *