‘सम्माननीय राष्ट्रपति भण्डारी हाम्रो शान, मान र गौरव हो’


गौरी ओली

Open Photo
लेखक संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवं डोटी जिल्ला इञ्चार्ज 

महिलाहरुलाई राजनैतिक घोषणामार्फत विशेष अधिकार दिलाउने उक्त दिन २०६३ जेठ १६ को विशेष सम्झना गर्दै यसमा सहयोग पुर्याउनुहुने सम्पूर्ण अग्रजहरुमा हार्दिक धन्यवाद र अधिकार प्राप्त गर्न सफल सम्पूर्ण नेपाली महिलाहरुमा हार्दिक बधाई भन्न चाहान्छु। जेठ १६ मा प्राप्त उपलब्धि लगायत इतिहासदेखि वर्तमानसम्म आइपुग्दा नेपाली महिलाहरुले थुप्रै अधिकार र उपलब्धिहरु हासिल गरेका छन। यी अधिकार प्राप्तिमा थुप्रै हाम्रा अग्रज योद्धाहरुको योगदान छ। म यस घडीमा त्यस्ता योद्धाहरु – नेपाली महिलाको खोसिएको बाँच्ने अधिकारको पुनर्बहाली गर्दै कहालीलाग्दो सतिप्रथाको अन्त गर्ने चन्द्रशमसेर, महिलाहरु र सिङ्गो नेपाली समाजको अधिकार र मुक्तिको खाँतिर सामाजिक, धार्मिक आन्दोलनमा समाहित विदुषी योगमाया न्यौपाने, राजनैतिक महिला नेताहरू कामाक्षादेवी, साधना अधिकारी, साहाना प्रधान, मङ्गला देवी सिंह, शैलजा आचार्य, नुना कोइराला, अस्टलक्ष्मी शाक्य, शान्ता मानवी, सम्माननिय राष्ट्रपति विद्या देवी भण्डारी हुँदै हाल कार्यरत थुप्रै महिला एवं पुरुष नेतृत्व गणहरु र सम्पूर्ण सहयोगी पक्षलाई लाख–लाख सलामका साथ गहिरो सम्झना गर्न चाहान्छु ।

माथी उल्लेख भए झैँ धेरै खालका उपलब्धिको पछाडी धेरैको हात भएता पनि आजको दिनमा म त्यस्ता एकजना योद्धाको सम्झना गर्न सान्दर्भिक ठान्दछु। उहाँ हुनुहुन्छ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ।  जुन महिलाहरुले प्राप्त गरेका धेरै उपलब्धिहरु मध्ये २०६३ जेठ १६ को विशेष उपलब्धिको अगुवा हुनुहुन्थ्यो । उहाँले २०६३ को पुनःस्थापित संसदमा विशेष  संकल्प प्रस्तावका रुपमा राज्यका हरेक निकायमा महिलाहरूको एक तिहाइ आरक्षणको अनिवार्य व्यवस्था सहित चार वटा महत्त्वपूर्ण विषय पेश गर्नुभएको थियो ।  उक्त संकल्प प्रस्तावमा नेपाली काँग्रेसका सांसद कमला पन्त र जनमोर्चाका सांसद नवराज सुवेदीले समर्थन जनाउनुभएको थियो । अरु सबै दलका नेताहरू सबै  माननीय सांसदहरुले पारित गराउनमा सहयोग गर्नुभयो । प्रमुख प्रस्तावक सम्मानीय राष्ट्रपति ज्यू, समर्थक द्वय र सबै नेतागणहरु, सबै माननीय सांसदहरु अन्य सहयोगी पक्षहरु धन्यवादका पात्र हुनुहुन्छ ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले यति मात्र हैन जीवनका हरेक मोडमा समग्र नेपाली जनताको विकास, उन्नति, प्रगति र अझै विशेष गरि महिला समुदायलाई माथी उठाउन, हिसाबबाट मुक्त राख्न हर समय कोशिशमा लागिरहनुभयो । अखिल नेपाल महिला संघको नेतृत्वमा हँदा संघको चौथो राष्ट्रिय सम्मेलनबाट १४ बुँदे कार्यक्रम अघि सार्दै महिलाहरुको सर्वाङ्गिण विकासको लागि लागिरहनुभयो । जस्ले गर्दा हिजो अवसरका नाउँमा चियाउन पनि नपाउने महिलाहरु आज राज्यका हरेक निकायमा एकतिहाई संख्यामा उपस्थित छन् र अझै हाराहारीमा पुग्न लागिपरेका छन् । महिलाहरुको राजनीतिक मात्र हैन सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक आदि सम्पूर्ण पक्षको विकास  क्रमिक रुपमा भैरहेको छ भने अंश र वंशको अधिकार समेत प्राप्त भैसकेको छ । सिङ्गो समाजको आमूल परिवर्तनका साथै नेपाली महिलाको पक्षमा यति धेरै काम गर्ने सम्माननीय व्यक्तित्वलाई आज केही कुतत्वहरुले ‘यो भनेको कोही हैन’ भन्ने जसरी नजर अन्दाज गर्न खोजेका छन् । उहाँको संघर्षमय इतिहासको अवमूल्यन गर्न खोजेका छन् । जिरो योगदान भएको व्यक्ति साँच्चै भिख मागेर अथवा चाकडी गरेर अथवा मदनको श्रीमती भएर मात्र उक्त स्थानमा पुगेको हो कि ? आदि जस्ता  प्रचार गरेर  सोझासाझा जनतालाई दिग्भ्रमित गर्ने कामहरू गरिरहेका छन् । यो अवस्थामा उक्त भ्रमहरुलाइ चिरेर सत्य कुरा बाहिर ल्याउनु आजको आवश्यकता हो भन्ने ठानेर उहाँको विषयमा थोरै केही लेख्ने जमर्को गरेकी हुँ । हो उहाँ जननेता मदन भण्डारीको अर्धाङ्गीनी हो । त्यही कारण जननेताको हत्यापछि पार्टीले उहाँलाई केही राहत प्रदान गर्यो । कार्यकर्ता, मतदाताहरुले थप माया र सहानुभूति प्रकट गरे । जननेताको लोकप्रियता, उहाँको राजनीतिक उचाईको आलोकले सम्माननीय ज्युको राजनितिक जीवनमा केही उज्यालो पक्कै थपेको छ । तर यति भनीरहँदा माथी भनिए झैं दयामा, मायामा, अर्काको पौरखमा श्रीमानको नाममा, योगदान र क्षमता बिना उहाँ उक्त स्थानमा पुग्नुभएको होइन। उहाँको आफ्नै संघर्षमय जीवन छ र आफ्नै योग्यता क्षमता छ ।

वि.सं. २०१८ मा भोजपुरको मानेभञ्ज्याङमा जन्मनुभएको उहाँ २०३७ सालमै महेन्द्र मोरङ्ग क्याम्पस स्ववियु कोषाध्यक्ष जस्तो पदमा निर्विचित भैसक्नुभएको थियो । २०३९ मा जननेता मदन भण्डारीसङ्ग शुभविवाह सम्पन्न भैसकेपछी ०३९–०४६ सम्म उहाँहरु दुवै जनाले असाध्यै कष्टपुर्ण भुमिगत जीवन व्यतित गर्नुभएको थियो । २०५० सालमा जननेता ज्यूको हत्या पछाडी भएको उपनिर्वाचनमा  पार्टीले उहाँलाई टिकट दिने निर्णय गर्यो । आफुमाथी भर्खरै मात्र लागेको आलो घाउलाई स्वयं मलमपट्टी गर्दै जननेताले देखेको सपनालाई पूरा गर्न उहाँ निर्वाचनमा होमिनुभयो।  त्यस्तो  संवेदनशील समयमा पनि नेपाली काङ्ग्रेसका संवेदना हराएका केहि बज्रस्वाँठहरुले उहाँको सेतो पहिरनलाई जोडेर अनर्गल प्रचार गर्ने र आलो घाउमा नुनचुक छर्किने काम गरे। तर त्यस्ता कुतत्वहरुले जतिसुकै हर्कत गरे पनी आँखिर सच्चा र इमान्दार जनताको मायाले जित्नुभयो र उहाँ नेपाली काङ्ग्रेसका तत्कालीन सभापति र अन्तरिम सरकारका प्रधानमन्त्री साधकी नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै निर्विचित हुन सफल हुनुभो । २०५४ सालको पार्टीको छैटौं महाधिवेशनबाट पार्टीको केन्द्रिय सदस्य । क्रमशः २०६५ र २०७१ मा भएको पार्टीको आठौं र नवौं महाधिवेशनबाट केन्द्रिय उपाध्यक्ष । प्रत्यक्ष र समानुपातिक गरि पटक–पटक सांसद। जनसंख्या तथा वातावरण मन्त्री र रक्षा मन्त्री गरि दुइपटक मन्त्री बन्न सफल हुनुभयो । उहाँ नेपालको पहिलो लोकप्रिय रक्षा मन्त्री हुन पनी सफल हुनुभएको हो । उहाँले २०६५ देखि २०७० सम्म  १५ वर्ष नेकपा एमालेको गौरवशाली जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सफल र सशक्त नेतृत्व सम्हाली सक्नुभएको छ ।  यी लगायत आफ्नो यति लामो राजनीतिक जीवनकालमा देश, जनता र पार्टीप्रति खेलेको अहम् भूमिकाकै कारण आज उहाँ गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको हो । हाल उहाँ दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालीरहनु भएको छ। संविधानको धारा ६१ को उपधारा (१), (२), (३) र (४) बमोजिम नै आज उहाँले कार्यसम्पादन गरीरहनुभएको छ । संविधानको धारा ६१ को उपधारा (३) ले राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनेको छ भने उपधारा (४) ले संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भन्ने व्यवस्था गरेको छ । तर आज सम्माननीय ज्यूले सोही बमोजिम कार्य सम्पादन गरिरहँदा यो देशका केहि धमिराहरु, जस्ले देशको उन्नति प्रगति, जनताको खुसबहाल कहिलै देख्न चाहेनन् ।  तिनले आज देशको सर्बोच्च सँस्था राष्ट्रपतिमाथि नाङ्गो हमला गरिरहेका छन्।

सिङ्गो नेपाली जनतालाई स्मरण नै छ । यो भन्दा पहिला अर्थात गणतन्त्र नेपालका पहिलो राष्ट्रपति सम्माननीय रामवरण यादव ज्यूले गरेका केही कामहरू म यहाँ स्मरण गर्न चाहान्छु –

१) तत्कालीन प्रधानमन्त्री प्रचण्डले तत्कालीन  प्रधानसेनापती रुकमाङ्गत कटुवालमाथि गरेको कार्वाहीलाई उहाँले रिजेक्ट गरिदिनुभएको थियो। 

२) तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यादेशमार्फत निर्वाचन गराउन खोज्दा उहाँले रोकिदिनुभएको थियो। 

३)नेपाली काङ्ग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई उहाँले पार्टीको नेताले झैँ यसो गर, उसो नगर भनेर निर्देशन दिनुभएको थियो। 

४) संविधानमा नभएको कुरा अर्थात संविधानलाई पूर्ण रुपमा कुल्चेर उहाँले तत्कालीन बहालवाला प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्षमा सफथ खुवाउनुभएको थियो । 

उहाँले यी माथी उल्लेखित कार्यहरू गर्दा देशलाई नाफा वा नोक्शान के भयो ? उक्त रिजल्ट तर्फ म जान खोजेको हैन । मैले भन्न खोजेको केवल उक्त कार्य गर्न उहाँलाई संविधानले दिएको थियो त ? भनेर जिज्ञासा मात्र राख्न खोजेको हो । उहाँ कुनै कार्यकारी राष्ट्रपति हुनुहुन्थेन । अहिलेकै संविधान अन्तर्गत अहिलेकै राष्ट्रपतिजस्तो संवैधानिक राष्ट्रपति नै हुनुहुन्थ्यो । तर उहाँले यी सबै काम कसरी गर्नुभो ? उहाँका माथी उल्लेखित सबै कार्यहरू किन असंवैधानिक भएनन् ? त्यतिखेर किन आजको जस्तो सडकमा रोइलो भएन ? किन उहाँमाथी एउटा प्रश्न उठाइएन ? किन उहाँलाई महाअभियोग लाउने कुरो भएन ? आज देश कोभिड–१९ को पीडाले आक्रान्त छ। जनता सामान्य अक्सिजन नपाएर ठाउँका ठाउँ ढलीरहेका छन् । विगतका नालायक सरकारहरुले देशको स्वास्थ क्षेत्र सुधारतर्फ माखो पनि नमारेको हुँदा वर्तमान सरकारले जति तदारुकता देखाउँदा पनि उल्लेख्य सुधार हुन सकिरहेको छैन । अब आउनसक्ने सम्भावित भेरियन्टबाट जनता जोगाउन आवश्यक खोपको व्यवस्था गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ। यस्तो अवस्थामा देशको अभिभावकले आफ्ना जनता जोगाउन खोप आपूर्तिका लागि विभिन्न देशसंग गरेको कुटनैतिक वार्तालाइ समेत अन्यथा साबित गर्न खोजिंदैछ। राष्ट्रपतिबाट संविधानको परिधिभित्र रहेर असल नियतका साथ गरिएका हरेक कार्यमाथी प्रश्न उठाईंदैछ। राष्ट्रियताको रक्षा, जनताको जिउधनको सुरक्षा र संविधानको संरक्षण गरेवाफत आज उहाँमाथि महाअभियोग लाउने कुरो हुँदैछ। त्यो पनि कुनै सभ्य, मर्यादित र राजनैतिक तवरबाट हैन, विल्कुल असभ्य, अमर्यादित, अश्लिल र अराजनीतिक किसिमले विरोध गरिंदैछ।

देशको सम्मानित सँस्थाको कुनै ख्यालै नगरेर विद्या भण्डारी एउटा व्यक्ति त हो नी भन्ने जसरी गाली गलौंच गरिंदैछ। एउटा मान्छे वा सिङ्गो मानव समुदाय जब वैचारिक सैद्धान्तिक पक्षबाट च्युत हुन्छ तब उ कसैको चरित्रमा जाइलाग्छ। आज त्यही भैरहेको छ। केहि पार्टीका मगज खुस्केका नेताहरू, तिनका भुईंफुट्टा कार्यकर्ताहरु, डलरमा बिकेका केही नागरिक समाज, केहि बुद्धिजीवी र केहि पत्रकार भनाउँदाहरु, झुठको खेती गरेर खान पल्केका केहि युटुबेहरु। एउटा महिला भएर अर्को महिलाको गरिमा नबुझ्ने, गलत र पापिस्ट सोच राखेका केहि  पुरुषहरुको प्रभावमा परेका महिलाका नामका केहि कलङ्कहरु आज राष्ट्रपतिको उछितो काड्न र चरित्रमा दाग लगाउन तछाड मछाड गर्दैछन् ।

स्वर्गीय नेता जीवराज आश्रीतले भने झै राजनीति गर्नु भनेको काँडैकाँडाको बाटोमा हिड्नु हो भने एउटा महिला भएर हाम्रो जस्तो अर्ध विकसित र अर्ध चेतनशील समाजमा राजनिती गर्न कति कठिन भयो होला ? त्यो पनि अहिलेको सजिलो र सुविधाजनक युग हैन, त्यतिबेलाको कहालीलाग्दो कालो युगमा ।  भुमिगत राजनीति, घरपरिवार,  बालबच्चा, समाज सबै कुरालाई सङ्गसङ्गै हिडाउनुपर्ने । त्यसमा पनि भर्खरको कलकलाउँदो युवावस्था, जुन समयमा कुनै हत्याराहरुले श्रीमानको हत्या गरिदिन्छन र एक्लै हुन पुगिन्छ। बाल्यकाल देखि निष्ठाको राजनीति गर्दा सम्पत्ति केही जोडिएको हुँदैन । बरु भएको पनि तानाशाही शासकहरुले हडप्दिन्छन्। यस्तो गरिबी र अभावमा श्रीमानले लिने जिम्मेवारी पनि आफैले लिनुपर्दा दोहोरो तेहरो जिम्मेवारी सहित जीवन चलाउनुपर्दा कति कठिन भयो होला ? अर्कोतर्फ आफन्तसङ्ग बिछोडिएको पीडाले मन कति पोल्योहोला ? यो समाजले किन बुझ्दैन वा बुझेर पनी बुझ पचाउँछ ? हाम्रो जस्तो पितृसत्तात्मक सोचबाट ग्रसित समाजमा महिलाले गरेको संघर्ष र त्यागको मूल्यलाई किन यति सस्तो ठानिन्छ ? र अझै पुरुषभन्दा पनि महिलाहरु जो आज कसैका कठ्पुतली भएर सम्माननीय राष्ट्रपतिमाथी तथानाम गर्न तम्सिएका छन् । तिनीहरू एउटा महिला भएर महिलाको पीडा र योगदान किन बुझ्दैनन ?

देशमा संविधान बदलिएको छ, कानुन बदलिएको छ, राजनीति बदलिएको छ, व्यवस्था बदलिएको छ । तर हाम्रो पुरुषवादी सामन्ती चिन्तन अँझै बदलिएको छैन । हामी आज गणतान्त्रिक युगमा छौं र अब समाजवादमा जाने कुरो गर्दैछौं। तर एउटा महिलालाई हामी सम्मान गर्न सकिरहेका छैनौं । महिलाको सहज अस्तित्व हामी स्विकार्न सकिरहेका छैनौं । महिलाको योग्यता क्षमता, इमान्दारीतामाथी  शंका गरिरहेका छौं । पुरातनवादी चिन्तनबाट ग्रस्त केही मनुवाहरुले आज सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको धज्जी उडाएको हैन आफ्नी आमाको धज्जी उडाइरहनुभएको छ । उहाँको हुर्मत लिइरहनुभएको छैन, आफ्ना दिदी, बहिनी, फूपू, काकी, भाउजू आदिको धज्जी उडाइरहनुभएको छ । अझै महिलाहरु जो आफुले आफुलाई महिला हुँ भन्न पनी बिर्सेका छन, जुन व्यक्तिको त्याग र समर्पणले आज देशका हरेक निकायमा विराजमान हुने अवसर प्राप्त गरेका छन्, उनै व्यक्तिको इज्जत माथी दाग लगाउन तम्सिदैछन् । तिनीहरू आज सम्माननीय ज्यूका हैन आफ्नै शरीरमा लगाएको लुगा उतार्दैछन् र जुन थालीमा खायो त्यही थालीमा ….. गर्दैछन् ।

राष्ट्रियताको प्रवर्द्धन र संविधानको संरक्षण खाँतिर आज सम्माननीय ज्यूबाट जुनसुकै पनि काम हुन्छ, त्यो सबैलाई गलत मात्र देख्ने दोषी चश्माहरु आफैले बनाएको संविधानतर्फ आफै औंला उठाउदैछन् । आफैले बनाएको संविधानको दायरामा बसेर सरकारले गरेका सिफारिसलाई अनुमोदन गर्दा किन अन्यथा ?  माथी उल्लेख भैसकेको छ की संविधान एउटै, अधिकार एउटै, तर हिजोको राष्ट्रपतिले माथी उल्लेखित तेत्रा कामहरु गर्दा पनी संवैधानिक नै हुने अर्थात त्यस्का विरुद्ध  एक शब्द आवाज नउठ्ने तर आजका राष्ट्रपतिले केही नगर्दा पनी तिललाई पहाड बनाउने ? त्यो सायद अघि उल्लेख भए झैं आजको राष्ट्रपति महिला भएर हो वा उहाँहरुले न्युटल राष्ट्रपतिलाई जवर्जस्ति राजनैतिक लेप लागाइदिन खोजेको हो ? जहिले पनि  देश र जनताको चिन्ता गरेर बस्ने,  संघर्षले खारिएकी असाध्यै शिष्ट, सभ्य, मर्यादित अनुशासित, कर्मशील र राष्ट्रभक्ति भावनाले ओतप्रोत राष्ट्रपतिलाई तथानाम गाली गरेर विश्व जगतमा देशको शीर निहुराउन उद्दत देशद्रोही,  यस्ता कुतत्वहरुलाई ठाउँका ठाउँ कार्वाही गरि देशको सर्बोच्च सँस्थाको मर्यादा जोगाउने र देशको अस्तित्व रक्षा गर्ने काम तत्काल गरियोस् सरकार । सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी हाम्रो शान, मान र गौरव हो ।

(लेखक संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवं डोटी जिल्ला इञ्चार्ज पनि हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *