
विश्वविख्यात नोवेल पुरस्कार सर्वाधिक राशि र प्रतिष्ठाका कारण विश्वका साहित्यकारहरुमा सधैँ नै चासोको विषय रहेको छ । के कुनै नेपालीले नोवेल पुरस्कार पाउलान् ? यो पनि यदाकदा चर्चामा आउने गरेको प्रशङ्ग हो । यही प्रशङ्गमा महाकवि देवकोटाले अङ्ग्रेजी भाषामा साहित्य रचना गरेर नोवेल पुरस्कार पाउने आकाङ्क्षा पालेका थिए भन्ने जानकारी पनि चाखलाग्दो छ ।
माधव घिमिरेको “अश्वत्थामा” र डा. ध्रुवचन्द्र गौतमको “अलिखित” को अङ्ग्रेजीमा अनुवाद गरेर प्रकाशित गर्नुमा नोवेल पुरस्कार नै कारक थियो । नेपाल एकेडेमीले नोवेल कमिटीलाई माधव घिमिरेको नाम एकपल्ट र डा. ध्रुवचन्द्र गौतमको नाम एकपल्ट सिफारिस गरेको थियो । एकपल्ट नेपालीभाषी भारतीय कवि राजेन्द्र भण्डारीको नाम पनि नोवेल पुरस्कारका लागि चर्चामा आएको थियो ।
कतिपय नेपाली साहित्यका अग्रजहरु, पण्डितहरु, प्रोफेसरहरु र स्वयम् श्रष्टाहरु नोवेल पुरस्कार कृतिलाई दिने पुरस्कार हो भन्ने भ्रममा छन् । त्यसैले उनीहरु त्यस्तै अभिव्यक्ति दिन्छन् । भाषणमा कैयौंपल्ट र लिखित रुपमा कैयन् ठाउँमा मैले सुनेको र पढेको छु । यो मलाई निकै उदेकलाग्दो कुरा लाग्छ । सन् १९०१ देखि शुरु भएको विश्वको एक व्यवस्थित र सिस्टममा चलेको विश्वविख्यात् पुरस्कारबारे यस्तो हास्यास्पद भ्रम किन ?
हुन त हाम्रो समाजको बनोटले पनि असर परेको हुन सक्छ । हामी फलानाले भनेको रे को पछि लाग्छौँ । हामी आधिकारिकताको खोजी गर्दैनौँ । चासो लिदैनौँ । शायद अल्छी छौँ ।
एक समय थियो, छापिएको कुरा सत्य हुन्छ भन्ने । लामो समय त्यसैको पछि लाग्यो समाज । तर छापिएको कुरा गलत हुनसक्छ भन्ने पछि मात्र महसुस गरियो । अझै पनि यो विश्वास यदाकदा कायम छ । एजेन्सी
