जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍योः प्रधानमन्त्री ओली


२९ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताउनुभएकाे छ ।

सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’

सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको बताउनुभयाे। ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्रति इमान्दारिताका साथ समृद्धि, सुशासन, विकासलाई ध्यान राखेर काम गरेको छु,’ उहाँले भन्नुभयाे ।

उहाँले एउटै दलका सदस्य सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतन्त्रमा नगरिने बताए । ओलीले सर्वाेच्चको अपब्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गरेको बताउनुभयाे ।

उहाँले सर्वाेच्चले धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरेपछि असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । ‘यस राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्नेछ । अत्याधिक न्यायिक सक्रियता देखियो,’ उहाँले भन्नुभयाे ।

उहाँले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वाेच्च अदालतले गरेको फैसलाको भाषाले चिन्तित तुल्याएको बताउनुभयाे । उहाँले सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने बताउनुभयाे ।

‘लोकतन्त्रको रक्षामा यी फैसला सहयोगी रहे कि असहयोगी ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? यसको समीक्षा भविष्यले गर्ने नै छ,’ उहाँले भन्नुभयाे । फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेपनि फैसलाको भाषाले चिन्तित तुल्याएको उहाँले बताउनुभयाे । निर्वाचन लोकतन्त्रको प्राणवायु भएपनि जनतामा जाने कार्यलाई निरंकुश भन्ने प्रचारबाजी भएको उहाँले गुनासाे गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *