
नेकपा एमालेको स्थायी कमिटीको बैठक आज नबस्ने भएको छ । अध्यक्ष केपी ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोटमा सर्दा समय लाग्ने भएकाले बैठक स्थगित हुन लागेको हो ।
एमाले नेता तथा कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक स्थगित हुने सम्भावना रहेको जानकारी दिए । तामाङले शिलापत्रसँग भने, ‘आज अध्यक्ष बालुवाटारबाट बालकोट सर्ने कार्यक्रम भएकाले केही विशेष पनि हुनेछ । त्यसैले आज स्थायी कमिटीको बैठक बस्ने सम्भावना कम छ ।’
ओलीलाई एमालेका नेता-कार्यकर्ताले विशेष र्यालीसहित बालकोट लैजाँदै छन् । यद्यपि ओलीले चाहेको अवस्थामा भने बैठक बस्न सक्नेछ । तामाङले भने, ‘हुन त केपी ओली रेस्ट लिने मान्छे होइन । त्यसैले बालकोट पुगेपछि बैठक बस्न पनि सक्छ ।’
एमाले नेता तामाङले स्थायी कमिटी बैठकमा माधवकुमार नेपाललाई भने स्वागत गर्न नसकिने बताए । विपक्षीलाई श्रीपेच पहिर्याउनेलाई एमालेमा स्वागत गर्न नसकिने तामाङको भनाइ छ ।
तामाङले भने, ‘अब एमालेमा माधव नेपाललाई स्वागत गर्न सकिँदैन । उहाँसँग जो-जो जान्छन्, ठीकै छ । बाँकीलाई एमालेमा स्वागत गरिन्छ ।’ उनको भनाइमा अब एमाले माधव नेपालबिनाको हुनेछ ।

