
काठमाडौंः आफ्ना माग सम्बोधन गर्न दवाव दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन ।
कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन ।
आईतबार मध्यान्ह काठमाडौंको माईतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पु¥याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन ।
कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
उहाँले आफूहरुको माग अव पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन गर्न दवाव दिने गरी बुझाएको सार्वजनिक सवारी साधनको साँचो गृह मन्त्रालयमार्फत् तत्काल प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । न्यूज एजेन्सी नेपाल
