
लोकदोहोरी गायिका गङ्गा बरालको प्रतिभा बन्दाबन्दीमा परेको करिब २७ महिना भएको छ ।
सानैदेखि लोकदोहोरी गाउन सिपालु बरालले राजधानीका विभिन्न लोकदोहोरी रेस्टुरेन्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो । आफ्नो कलाको कमाइमा उहाँलाई निकै गौरव लाग्थ्यो ।
दोहोरीमा आमने–सामने बसेर टुक्कालाई एक/दुई मिनेटमै फर्काउन सक्ने क्षमतालाई अरूको मनोरञ्जनका लागि प्रस्तुत गर्दै घरपरिवारलाई सघाउँदै आउनुभएकी बरालजस्तै हजारौँको काम कोरोना महामारीका कारण ठप्प भएको हो ।
लोकदोहोरी गायिका सानु ओझालाई पनि यस महामारीको दुई वर्ष अत्यधिक लामो लागेको छ । अब पनि व्यवसाय खोल्न नदिए, यस क्षेत्रमा रोजगारी गर्ने श्रमिकहरू रोगले भन्दा भोकले मर्नेछन्–ओझा भन्नुहुन्छ ।
लोकदोहोरीमै वाद्यवादकका रूपमा कार्यरत भरत भट्टको अनुभव पनि सुखद छैन ।व्यवस्थापनमा स्नातक तह उत्तीर्ण भट्ट डोटी शिखर नगरपालिका–९ का बासिन्दा हुनुहुन्छ । “सङ्गीतको शौखले यस क्षेत्रमा लागेँ, अन्य क्षेत्रभन्दा रात्रिकालीन व्यवसाय नीति नियमबिना चलेको पेसागत सुरक्षा कतैबाट नहुने क्षेत्र रहेछ, दुई वर्षदेखि रोजगारी नहुँदा कतैबाट पनि हामीलाई सोधखोज गरिएन, यसकारण हामी ऋणमै डुबेका छौंँ,” भट्ट भन्नुहुन्छ ।
साथीभाइले ऋण पनि कति देलान् ? अब पनि रोजगारी नखुले बाँच्न गाह्रो पर्ने स्थिति आयो । यसप्रति राज्यले गम्भीर भएर सोच्नुपर्छ– उहाँको भनाइ छ । साथै यस क्षेत्रलाई विकृतिको दृष्टिकोणले हेर्नुभन्दा नीति नियममा ल्याएर पेसागत सुरक्षासहित सञ्चालन गर्न दिनुपर्ने उहाँको सुझाव छ ।
