काठमाडौं, भाद्र ०९ गते । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद राखेपलाई प्रतिवेदन बुझाएको छ ।
१४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् ।
समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल संघ, एसियाली फुटबल महासंघ फिफाको नियम अनुसार चल्न नसकेको, आफ्नो समस्या आफै समाधान गर्नु पर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने औल्याइएको छ ।
कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताउनु भयो । उहाँले विवाद समाधान गर्न दुबै पक्षसँग छुट्टा छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताउनु भयो । छानविन भइरसकेको अवस्थामा परिषदले दिएको निर्देशन एन्फाले अक्षरसः पालना गर्नु पर्ने सदस्य सचिव सिलवालको भनाई छ ।

