चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी ओएसको प्रयोगकर्ता नौ करोड नाघेका छन् ।
कम्पनीले सन् २०२१ को अन्त्यसम्म ३० करोड उपकरणमा हार्मोनी ओएसको पहुँच विस्तार गर्ने योजना लिएको छ । यसअनुरूप कम्पनीले इन्टरनेट अफ थिङ्स र स्मार्ट ग्याजेटमा तीव्र रूपमा ओएस विस्तार गरिरहेको छ ।
जीएसएम एरेनाकाे रिपाेर्ट अनुसार पछिल्लो एक हप्तामा मात्रै दुई करोड उपकरणमा हार्मोनी ओएस इन्स्टल भएको छ । कम्पनीले पुराना उपकरणहरुलाई हार्मोनीमा स्विच गरिरहेकाले पनि यो संख्या एकैपटक बढेको हो ।
ह्वावे कन्जुमर बिजनेश ग्रुपका सीईओ रिचार्ड यूका अनुसार हाल हरेक सेकेन्डमा ८ डिभाइस हार्मोनी ओएसमा स्विच भएका छन् ।संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन ।

