सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले संचालन गर्ने अनुमति पाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न पाउने सरकारले निर्णय गरेसँगै हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले भने शत प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति नदिएसम्म सिनेमा हल संचालन नगर्ने बताएका छन् ।
चलचित्र संघले सरकारलाई चेतावनी दिइरहँदा निर्देशक तथा अभिनेत्री झरना थापाले भने आफ्नो फिल्मको रिलिज मिति सार्वजनिक गरेकी छिन् । उनले ‘ए मेरो हजुर ४’ प्रदर्शनको मिति आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
थापाले सार्वजनिक गरेसँगै आउँदो चैत्र २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ । उनले पुर्व घोषित मिति भाद्र १८ गते रिलिज गर्न नसकेको भन्दै अब चैत्रमा फिल्म प्रदर्शन गर्नेमा आशावादी भएको समेत उल्लेख गरेकी छिन् ।

