प्रचण्ड बिलाएर जान्छन्: केपी ओली (भिडियो सहित )


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने बताउनुभएको छ ।

बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने टिप्पणी गर्नुभएको हो ।

उहाँले माओवादी केन्द्र र एमाले एकिकरण पछिको मुल पार्टी आफुहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताउनुभयो । विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तपाई त्रिभुवन इन्टरनेशनल एयरपोर्टबाट उडेको प्लेन देख्नुहुन्छ नि । उडिराखेको ठाउँबाट पहिले हेर्नुस् विशाल प्लेन हुन्छ कतिधेरै मान्छे बोकेको हुन्छ । उड्दै गयो खिइदै जान्छ । उड्दै जाँदा सानो हुँदै एकछिन पछि देखिन छोड्छ ।

अब प्रचण्डपथ त्यही हो । कता गए प्रचण्ड, कता गए प्रचण्डपथ । यात्रा त्यही हो अब । उडेको जहाज बिलाउँदै दृश्यबाट हटेजस्तो सानो हुँदै गएजस्तै । त्यसकारण म आग्रह गर्न चाहान्छु हिजो हामी नेकपा भएर एकठाउँमा एकिकृत पार्टीमा बसेर काम गरिसक्यौँ ।

एकीकृत पार्टी भइसक्यौँ फेरी कहाँ प्रचण्डलाई लहड लाग्यो भन्दैमा फेरी अलग भएर जाने ? तपाईहरु पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो ? म साथीहरुलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन, पार्टीका कार्यकर्ता हुन, पार्टीमा फर्किएर एकीकृत पार्टीमा फर्किएर आउन, महान उद्देश्यका लागि काम गर्न आग्रह गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *