कोभिड १९ को महारामारीले सताइरहेका बेला नेपालमा पनि ब्ल्याक फंगस नामक कालो ढुसी रोगका बिरामी देखिन थालेका छन् । पछिल्लो समय भारत र नेपालमा देखिएको ब्ल्याक फंगस रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई बढी सताउने गरेकाे पाइएकाे छ ।
आँखा, नाकलगायत अनुहारमा गम्भीर हानि पुर्याउने र ज्यानैसमेत लिन सक्ने भएकाले नेपालीमा कालो ढुसी भनिने यो रोगबारे बेलैमा सतर्क
रहन आवश्यक छ । कोरोना संक्रमणमुक्त भएका मानिसलाई यस रोगले बढी सताउन थालेको छ ।
रोगसँग लड्न क्षमता कम भएका मानिसमा ब्ल्याक फंगस देखिने गरेको चिकित्सकले बताएका छन् । कोभिड निको भएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले यसले छिटो आक्रमण गर्ने गरेको छ ।
खासगरी कोरोना निको भइसकेका मधुमेहपीडित र रोग प्रतिरोधक क्षमता कम भएकाहरू यो ढुसीको आक्रमणमा पर्ने गरेका छन् । थाहा भएअनुसार मुलुकमा कालो ढुसीको संक्रमणबाट कम्तीमा ३ जनाको मृत्यु भैसकेको छ भने १० जनाभन्दा बढी यसबाट पीडित छन् ।
यसबाट संक्रमण भएका मानिसहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट रगत बग्ने, पिनास दुख्ने, अनुहार सुन्निने, आँखाको ढकनी सुनिनेरझुक्ने, आँखाले धमिलो देख्ने, दाँत दुख्नेरहल्लिनेजस्ता लक्षण देखिन्छन् ।
जुनसुकै उमेर समूहका मानिसलाई यसले आक्रमण गर्नसक्ने भए पनि सरुवा रोग भने नभएको चिकित्सकहरु बताउँछन् । यसबाट सुरक्षित रहनका लागि मुख्यगरी प्रोटिनयुक्त खाना खान सुझाउँछन् चिकित्सकहरु ।
उनिहरुका अनुसार धेरै धूलो भएको र ओसिलो ठाउँमा बस्नु हुँदैन । मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्नु पनि उत्तिकै आवश्यक छ । अंग प्रत्यारोपण गरेकालगायत गम्भीर प्रकृतिका बिरामीमा पनि यो समस्या पाइएकाले उनीहरू पनि सतर्क रहनुपर्छ ।

