सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।
सहुलियत पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको छ । काठमाडौंमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायक लगायतका विभिन्न स्थानमा सहुलियत पसल राखिएको छ ।
बिक्री काउन्टरबाट भौतिक उपस्थितीमा नै बिक्री गरिएको छ । पसलमा दैनिक उपभोग्य खाद्य सामग्री नुन, तेल, दाल, चामल, चिनी, जुम्लाको मार्सी चामल, चिउरा, आँटा लगायतका खाद्य सामग्रीहरु रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशीक कार्यालयकी प्रमुख ज्ञानु थापाले बताउनुभयो ।
खाद्य विभागले आजदेखि ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल सञ्चालन गरेको पनि उहाँले बताउनुभयो । उहाँले चामल, दालमा प्रतिकेजी ५ रुपैयाँ, खाने तेलहरुमा प्रतिलिटर पाँच रुपैयाँदेखि १० र कर्णालीको सिमी र फापरको दानामा प्रतिकेजी १० रुपैयाँ र जिउँदो खसी बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको र २७ किसिमको छ खाद्य सामग्री बिक्रीका लागि राखिएको पनि जानकारी दिनुभयो ।

