एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको यो नयाँ अपरेटिङ सिस्टम आईफोन सिक्स एस तथा त्यस पछिका आईफोनका लागि उपलब्ध गराइएको हो ।
आईओएस १५ ले आईफोन एसई र पछिल्लो आईप्याड टच मोडलमा समेत प्रयोग गर्न सकिनेछ । साथै कम्पनीले आजै आईप्याड १५ ओएस र वाचओएस ८ समेत सार्वजनिक गरेको छ ।
आईओएस १५ सँगै आएको सबैभन्दा ठूलो परिवर्तन भनेको नयाँ फोकस मोड नै हो । डु नट डिस्टर्ब’ का अतिरिक्त तपाईंले अन्य मोडमा समेत कन्फिगर गर्न सक्नुहुनेछ । यसमा तपाईंले नोटिफिकेसन प्राप्त गर्न एप र व्यक्ति समेत छनौट गर्न पाउनु हुनेछ ।
साथै तपाईं के गर्दै हुनुहुन्छ, त्यसै अनुसारको फोकस समेत चयन गर्ने विकल्प यसमा छ । उदाहरणको लागि तपाईंले काम गर्दाको समयका लागि ‘वर्क मोड’, सुत्ने समयका लागि ‘स्लिप मोड’ र व्यायाम गर्दाको समयका लागि ‘वर्कआउट’ मोड तयार पार्न सक्नुहुन्छ ।
आईओएसको यो नयाँ भर्सनमा अन्य थुप्रै नयाँ फिचरहरू पनि छन् । जसमा तपाईंले अक्षरका लागि फोटो स्क्यान गर्न सक्नुहुन्छ । जसलाई ‘लाइभ टेक्स्ट’ नाम दिइएको छ । यो फिचरको सहयोगमा तपाईंले फोटोमा रहेका अक्षरलाई हाइलाइट गर्न, कपी तथा पेस्ट गर्न सक्नुहुन्छ ।

