भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
करिब साढे १९ करोड रुपैयाँभन्दा बढीको लागतमा बनेपा नगरपालिकाको आजाद माध्यामिक विद्यालय, पाँचखाल नगरपालिकाको श्री आजाद मध्यामिक विद्यालय, दुग्धेश्वर माध्यामिक विद्यालय र भगवति माध्यामिक विद्यालय तथा चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यामिक विद्यालय र पनौती नगरपालिकाको शारदा माध्यामिक विद्यालयको उद्घाटन गरिएको हो ।
विद्यालयको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँस्कोटाले भुकम्पपछि नेपाललाई भारत सरकारले निकै सहयोग गरेको भन्दै भारत सरकारप्रति नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतविचको सम्बन्ध बहुआयामिक भएको उल्लेख गर्नुभयो ।

