शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ ।अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।
उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गर्नुभएको थियो ।शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ ।
नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् ।

