फुट्यो कांग्रेस, जनमोर्चा र माओवादीको अखडा : २ सय जना एमालेमा प्रवेश


दाङ : दाङको भालुबाङमा नेकपा एमालेले दशै मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। राप्ती गाउँपालिका वडा नम्बर १ को आयोजनामा भव्य कार्यक्रमका बीच शनिबार दशै मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका पुर्व मुख्य मन्त्री शंकर पोखरेल रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिको रुपमा संघीय माननीय गंगा चौधरी र शान्ता चौधरी रहनुभएको थियो।

कार्यक्रममा केन्द्रिय सदस्य सुजिता शाक्य,लुम्बिनी प्रदेश सांसद रेवती रमन शर्मा, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का , एमाले दाङका सचीव मनोहर बुढाथोकी, देउखुरीका इन्चार्ज नारायण डाँगी, प्रदेश कमिटिका सदस्य नरेन्द्र ओली लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा एक अर्काबीच दशैको शुभकामना आदानप्रदान गरिएको थियो। त्यस्तै, २ सय जना एमालेमा प्रवेश गरेका थिए। नव प्रवेशीलाई खादा लगाएर भव्य स्वागत समेत गरिएको थियो। नव प्रवेशीहरु पार्टी प्रवेश गर्दा निकै उत्साहित देखिन्थे।

एमाले नै देश विकासको भरोसा भएकोले एमालेमा प्रवेश गरेको भन्ने नव प्रवेशीहरुको धारणा थियो। उपस्थिति सम्पुर्ण अतिथिले कार्यक्रममा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

नेकपा एमालेका पुर्व मुख्य मन्त्री शंकर पोखरेलले आफ्नो भनाइ राख्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेपाली जनताको विश्वास जित्ने पार्टी हो एमाले। विगतका दिनदेखि नै हालका दिनसम्म अधिकांश जनताको मनमा बसेको छ एमाले। कुरा भन्दा पनि काम गरेर देखाउने काम एमालेले गरिरहेको छ। सायद त्यही भएर होला आज यतिधेरै २ सय जनाले हाम्रो पार्टिमा प्रवेश गर्नुभयो। उहाँहरु सम्पुर्णलाई स्वागत गर्दछु। साथै हिन्दुहरुको महान चाड वडा दशैको सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।”

दशैको शुभकामना दिँदै आफ्नो भनाइ संघीय माननीय गंगा चौधरीले पनि राख्नुभएको थियो। “सदैव म राष्ट्रकै बारेमा सोच्ने गर्छु। नेपाली जनताका समस्या निराकरण गर्नतिर नै म उन्मुख भइरहेको हुन्छु।”, उहाँले अगाडि थप्नुभयो, “विशुद्ध स्वस्थ राजनीति हामीले गर्नुपर्छ। आज प्रवेश गरेका नयाँ सबैलाई एकढिका भएर अगाडि बढ्न आग्रह गर्न चाहान्छु।”

एकैदिन यति धेरै २ सय जनालाई पार्टी प्रवेश गराउनको लागि गोपाल ओली र नन्द कुमार चौधरीले अहम् भुमिका खेलेका थिए। प्रवेश गर्ने मध्येमा टिम लिडरहरु कांग्रेसका कर्ण केसी, जनमोर्चाका राम बहादुर केसी र माओवादीका चुमान सिङ खत्री रहेका थिए।

त्यसो त, गोपाल ओली पछिल्लो समय पार्टीको लागि अनवरत रुपमा खटिएका छन् । युवाहरूको आकर्षण “नेकपा एमाले” बनाउनु पर्छ भन्ने ध्येयका साथ ओली लागिपरेका छन् । एकैदिन २ सय मात्रै होइन हजारौं संख्यामा एमाले पार्टी प्रवेश गराउन आफ्नो भुमिका सदैव निर्वाह गर्ने ओली बताउँछन् ।

कांग्रेसकै सरकार रहिरहँदा पनि कांग्रेस, माओवादी अनि जनमोर्चाबाट एमालेमा ठुलो संख्यामा प्रवेश गर्दा कांग्रेस, माओवादी र जनमोर्चाको अखडा फुटे सरह भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *