काठमाडौं । शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलामा प्रचण्ड–नेपालमाथि खनिए ।
सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएपछि ओली एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालमाथि खनिए ।
अध्यक्ष ओलीले माधव नेपाललाई जान नदिन १० बुँदे सहमति बनाएको तर, नेपालले छाडेर गएको आराेप लगाए । नेपाललाई पार्टीमा ल्याउन अनेक कोसिस गरे पनि फेल भएको पनि उनकाे आराेप छ ।
उनले भने, ‘माधव नेपाललाई ल्याउन स्वागत गेट बनाइयो। घर बनाइयो। आराम गर्नका लागि सोफाहरु बनाइयो। तपाइहरुले सुन्नुभयो होलानी १० बुँदे। यी सबै कुरा माधव नेपालका लागि बनेका थिए। फर्किने ठाउँ चाहियो भनेर १० बुँदे बनाइयो। तर, उनले मानेनन्।’
अहिले आफूलाई नेपालको औँधी माया लागेको पनि अध्यक्ष ओलीले सुनाए । ‘बिचरा माधव नेपाल कुदेंको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लु,’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन्।’
ओलीले जसरी भए पनि एमाले एकता गर्न बनेको १० बुँदेको कार्यान्वयन गरेरै छाड्ने पनि बताए । ओलीका अनुसार आवश्यकताअनुसार पार्टी जेठ २ मा पनि फर्किन तयार छ।
